७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाम गठबन्धनलाई आयोगको जवाफ : कानुन उल्लंघन गर्न सकिँदैन

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार १३:००

काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोग गएका एमाले र माओवादी केन्द्रका नेताहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर छिटो चुनावी परिणाम सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
वाम गठबन्धनका नेताहरुले निर्वाचन परिणाम थन्क्याएर राख्दा भविष्यमा उत्पन्न हुने समस्यातर्फ ध्यान दिन चेतावनीपूर्ण आग्रह गरेका छन् । छलफलमा आयोगका पदाधिकारीहरुले भने परिणाम सार्वजनिक गर्न बिलम्ब गर्ने आफूहरुको कुनै मनसाय नरहेको दाबी गर्दै प्रक्रिया पुर्‍याएर छिट्टै परिणाम सार्वजनिक गर्ने बताएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
यसअघि, सोमबारै नेकपा एमाले र माओवादी केन्द्रका भ्रातृसंगठनहरुले पनि तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न माग गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त यादवले कानुनको उपेक्षा गरेर मतपरिणाम सार्वजनिक गर्न नसकिने बताएका थिए ।
गत मंसिर १० र २१ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।