४ बैशाख २०८१, मंगलवार
Follow Us

सेयर बजारमा सुधार

नेपालब्रिटेन डट कम्
१७ पुष २०७४, सोमबार १३:३३

काठमाडौं । शेयर लगानीकर्ता संघले मुलुकको वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग माग गरेको छ । संघले आज अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएर सो माग गरेको हो । वित्तीय क्षेत्रमा देखिएको तरलताको समस्या समाधान गर्न शेयर लगानीकर्ता संघले सरकारलाई तत्काल हस्तक्षेप गनुपर्ने माग गरेको संघका सदस्य केशव भण्डारीले जानकारी दिनुभयो ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावमा नियामक निकायले हस्तक्षेप नगरेका कारणले वित्तीय क्षेत्रमा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा बढेको संघले बताएको छ ।

संघको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री कार्कीले वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न केन्द्रीय बैंक, सरोकार भएका निकाय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग सरकार निरन्तर छलफलमा रहेको बताउनुभयो ।

मन्त्री कार्कीले राष्ट्रिय रुपमा देखिएको समस्या समाधान गरी वित्तीय समस्याको निरुपण गर्न अर्थमन्त्रालय लागिपरेकाले केही दिन भित्रै उपयुक्त निकास निस्कने धारणा राख्नुभएको सदस्य भण्डारीले जानकारी दिनुभयो ।

सेयर बजारमा सुधार

विगत ११ दिनदेखि ओरालो लाग्दै आएको शेयर बजारमा आज सुधार आएको छ । धेरै दिनपछि आज बजार ४४ दशमलव २२ अंकले बढेर एक हजार ४३४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ९ दशमलव २ बिन्दुले बढेको छ ।

कूल १६३ कम्पनीको ११ लाख ४१ हजार ४६३ कित्ता शेयर रु ४९ करोड ८४ लाख ७२ हजार ३९८ मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज बैंकिङ ४२ दशमलव ५२, व्यापार २ दशमलव ८७, होटल १११ दशमलव ५७, विकास बैंक ४५, जलविद्युत् ५९ दशमलव ८, फाइनान्स १३ दशमलव २६, बीमा २७०, उत्पादन २५ दशमलव ३२, माइक्रोफाइनान्स ६९ दशमलव ४७ बिन्दुले बढ्दा अन्य समूह भने शुन्य दशमलव ८७ बिन्दुले घटेको छ ।