६ बैशाख २०८१, बिहीबार
Follow Us

शेयर बजारमा बृद्धि

sarusaru
१८ पुष २०७४, मंगलवार ०२:५८

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा रौनक देखिएको छ। निरन्तर ओरालो लागिरहेको बजारमा यस दिन ४४ दशमलव २२ अंक बढेको छ। पछिल्लो ११ दिनमा मात्रै नेप्से परिसूचक कुल १ सय ३० दशमलव ५८ अंक घटेको थियो। लगानीयोग्य पुँजीको अभाव भएका कारण बैंकहरूले निक्षेपमा उच्च ब्याजदर योजना सार्वजनिक गरेपछि बजार प्रभावित भएको थियो।

आइतबार बैंकहरूले साढे १२ प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति गरेपछि यस दिनको बजार बढ्न टेवा पुगेको हो । यस्तै नेपाल इन्भेष्टर्स फोरम र बैंकर्स एसोसिएसनले धितोपत्र बजार सुधारका लागि सहकार्य गर्ने कुराले पनि यस दिनको बजार प्रभावित भएको हो ।

बजार निरन्तर घटेपछि अधिकांश कम्पनीको सेयर मूल्य सस्तिएको छ । सोहीकारण बजारमा खरिदकर्ताको चाप यस दिन बढेको एक ब्रोकरले बताए। मूल्य सस्तो भएपछि साना तथा ठूला सबैखाले लगानीकर्ताले सेयर खरिद गरेका कारण यस दिन बजार बढेको उनको भनाइ छ ।

५० करोडको कारोबार
सोमबार लगानीकर्ताको सम्पत्ति ५१ अर्ब ८५ करोड रुपैयाँ बढेर १६ खर्ब ६९ अर्ब पुगेको छ । सेयरबजारमा सुधार भएका कारण लगानीकर्ताको सम्पत्ति बढेको हो । नेप्से र लगानीकर्ताको सम्पत्ति बढ्दा यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन १ सय ६३ कम्पनीको ५ हजार २ सय २९ पटकको कारोबारमा ४९ करोड ८४ लाख ७२ हजार ३ सय ९८ बराबरको ११ लाख ४१ हजार ४ सय ६३ कित्ता सेयर खरिद–बिक्री भएको छ । धेरै दिनदेखि ओभरबट जोनमा रहेको नेप्सेको आरएसआई यस दिन भने न्युट्रल जोनमा पुगेको छ । यस दिन नेप्सेको १४ दिने आरएसआई ३७ दशमलव ४४ स्केलमा रहेको छ । यसले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

स्ट्यान्डर्ड चार्टर्ड र प्रभुको कारोबार उच्च
कारोबार रकमका आधारमा यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंक अगाडि रहेको छ । यस दिन सो बैंकको २ करोड ८८ लाखभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, प्रभु बैंकको २ करोड ६७ लाखबराबरको सेयर किनबेच भएको छ । राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य यस दिन ८ दशमलव ५४ प्रतिशत बढेको छ । सोही कम्पनीको सर्वसाधारण सेयर यस दिन ८ दशमलव ५ प्रतिशत बढेको छ । बढेको बजारमा पूर्णिमा विकास बैंकको सेयर मूल्य ३ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये यस दिन १ सय ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ।

यस दिन ‘अन्य’ समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक ५ दशमलव ३३ प्रतिशत बढेको छ । त्यसैगरी, माइक्रोफाइनान्स समूहको परिसूचक ४ दशमलव १३ प्रतिशत, बिमा समूहको ३ दशमलव ७५ प्रतिशत, बैंकिङ समूहको ३ दशमलव ५८ प्रतिशत, जलविद्युत् समूहको ३ दशमलव १४ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ८५ प्रतिशत, वित्त समूहको १ दशमलव ८३ प्रतिशत, ट्रेडिङ समूहको १ दशमलव ४९ प्रतिशत र उत्पादनमूलक समूहको १ दशमलव शून्य १ प्रतिशत बढेको छ। कारोबारमा आएको ‘अन्य’ समूहको परिसूचक भने यस दिन शून्य दशमलव ११ प्रतिशत घटेको छ।

– नयाँ पत्रिका दैनिकबाट ।