१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्षमा महर र आचार्यबीच प्रतिस्पर्धा हुने

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार ०७:१९

काठमाडौ । विवाद मिलेपछि भोलि हुने निर्वाचनमा संस्थापन र पौडेलपक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाका गाउँले नैनसिंह महर भिड्दैछन् भने पौडेलपक्षबाट मनोजमणि आचार्यले प्रतिस्पर्धा गर्दैछन् ।
संस्थापन पक्षबाट महरको नेतृत्वमा कुन्दन काफ्ले र सरोज थापा महामन्त्री रहेको टिम बनेको छ भने रामचन्द्र पौडेल पक्षबाट आचार्यको नेतृत्वमा दीपक भट्टराई र उर्मिला थपलिया महामन्त्री रहेको टिम बनेको छ । दुबै टीम उत्तिकै सशक्त रहेका कारण तीब्र प्रतिस्पर्धाको अवस्था छ । तर केही भोट संस्थापन पक्षको बढी भएका कारण महरको सम्भावना धेरै देखिएको महाधिवेशन प्रतिनिधिहरु बताउँछन् । प्रभावशाली विद्यार्थी नेता आनन्द त्रिपाठीको सम्मानजनक व्यवस्थापन हुन नसकेकाले आचार्यलाई असर पार्ने बुझिएको छ । तर विद्यार्थीहरु नेताहरुमध्ये आचार्य लोकप्रिय छन् ।
अध्यक्ष पदका दुबै जना प्रतिस्पर्धी पुराना र अनुभवी हुन् । उनीहरु दुवै जना २०५७ सालदेखि केन्द्रीय समितिमा रहेर काम गरेका विद्यार्थी नेताहरु हुन् । अघिल्लो महाधिवेशनमा महर उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने आचार्यले महामन्त्रीका रुपमा काम गरेका थिए । आफ्नो पक्षबाट करिव आधा दर्जन जतिले अध्यक्ष पदको दावी गरेका कारण प्यानल बनाउन नसकिने अवस्था उत्पन्न भएपछि महाधिबेशन प्रतिनिधि छनौटमा धाँधली भएको निहुँ बनाउँदै पौडेलले महाधिवेशन नै बिथोल्न खोजेको थियो ।
सहमतिद्वारा एउटा मात्रै प्यानल बनेका कारण पौडेल पक्ष पनि कमजोर छैनन् । दुवै प्यानलको भोटमा खासै ठूलो अन्तर नरहेका कारण व्यक्तिगत परफरमेन्सका आधारमा चुनावी हारजित हुने विश्लेषण धेरैले गरेका छन् ।