१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यौन हिंसाविरुद्ध हलिवुडसम्बद्ध महिलाको अभियान सुरु

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार ०४:४१

लन्डन । चलचित्र उद्योगसहित अन्य क्षेत्रहरुमा हुने गरेको यौनजन्य हिंसा तथा दुब्र्यवहार विरुद्ध लड्न अमेरिकी चलचित्र उद्योग (हलिवुड)सम्बद्ध महिलाले अभियान सुरु गरेका छन् । तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकहरुले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ नामक अभियान सुरु गरेका हुन् । न्युयोर्क टाइम्स पत्रिकामा जानकारीमुलक सूचना प्रकाशित गरेर हलिवुडका महिलाले यो अभियान सुरु भएको घोषणा गरेका छन् । मनोरञ्जन उद्योगका महिला समेटिएर सुरु गरिएको यो अभियानमा अन्य क्षेत्रमा काम गर्ने महिलालाई पनि एकीकृत गर्ने उद्देश्य रहेको बताइएको छ । सन् २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वाइन्स्टिनमाथि हाइ प्रोफाइल अभिनेत्रीहरुले यौनदुब्र्यहारको आरोप लगाएपछि यौनहिंसा विरुद्ध बोल्ने बाहिर आउने क्रम सुरु भएको छ । त्यसको परिणाम स्वरुप अहिले हलिवुड मात्रै नभएर टेलिभिजन तथा खेलकुद क्षेत्रका महिला पनि यौनहिंसा विरुद्ध बोल्न थालेका छन् । नाटाली पोर्टम्यान, रीसे विदरस्पुन, केट ब्लान्चेट, इभा लङगोरिया, एम्मा स्टोनसहितका अभिनेत्रीको साथ रहेको टाइम्स अप अभियानले यौनहिंसामा परेका सबै क्षेत्रका महिलालाई सहयोग गर्ने उद्देश्य लिएको छ । अभियानले अहिलेसम्म १३ मिलियन अमेरिकी डलर भन्दा बढी सहयोग संकलन गरिसकेको छ । अभियानले १५ मिलियन डलरको कोष बनाउने लक्ष्य लिएको छ । यौनहिंसामा परेका महिलालाई कानुनी उपचारमा सहयोग गर्ने अभियानले जनाएको छ ।