१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पिपुल्स हेल्पफुल सहकारीको २ करोड कसले हिनामिना ग-यो

नेपालब्रिटेन डट कम्
१८ पुष २०७४, मंगलवार १०:२७

गौशाला । महोत्तरी सदरमुकाम जलेश्वरमा सञ्चालित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रु दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

जम्मा गरेको सो रकम हिनामिना गरेको भन्दै उक्त सहकारीका २६ जना प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिनुभयो ।

जलेश्वर–६ का अजयकुमार साह, जलेश्वर–३ का अब्दुलकादिर खाँ, जलेश्वर–११ का राघवेन्द्र पाण्डे, जलेश्वर–८ का विमलादेवी पाठकसहितका प्रतिनिधिले सहकारी सञ्चालक समिति, सहकारीका अध्यक्ष निर्मलकुमार मैनाली, प्रबन्धकहरु विमल आचार्य, राजकुमार कर्ण, शैलेन्द्र मण्डल र जयबाबु चौधरी, क्यासियरद्वय हरिनारायण यादव र पीताम्बर झा विरुद्ध उजुरी दिएको पोखरेलले बताउनुभयो ।

उजुरीकर्ताले सहकारी संस्थाले गैरकानूनीरुपमा २०७१ माघ १० गतेपछि साधारणसभासमेत नगरेको र आफूहरुले जम्माकर्ताको करोडाँै रकम संस्थामा जम्मा गरेपनि जम्माकर्तालाई आवश्यक परेका बेला फिर्ता माग्न जाँदा संस्थाले नदिएको आरोप लगाएका छन् । सहकारीका सञ्चालक र संस्थाभित्र आर्थिक कारोबार गर्ने व्यक्तिले एक अर्कामाथि दोषारोपण गर्दै रकम फिर्ता नगरेको तथा तीन महिनादेखि संस्थामा तालाबन्दी गरी फरार रहेको आरोप लगाइएको छ ।

उजुरीपछि प्रहरीले सो सहकारीमा आबद्ध सबै आरोपितको खोजतलास गरिरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।