११ बैशाख २०८१, मंगलवार
Follow Us

लन्डनमा राष्ट्रिय पोशाक दिवस तथा पृथ्बी जयन्ती मनाइंदै

नेपालब्रिटेन डट कम्
१९ पुष २०७४, बुधबार २२:५३

लन्डन । लन्डनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले एक कार्यक्रमबीच ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउन लागेको हो । आगामी जनवरी ११ तारिख दिउंसो लन्डन सडबरी टाउनस्थित हिमालयन क्लबमा कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक भरत क्षेत्रीले जानकारी दिए । यस्तै सोही कार्यक्रम आयोजक मध्यका एक बाचस्पति रेग्मीले यो वर्ष देखी पृथ्वी जयन्तिलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउने तयारी भएको जानकारी दिदैं कार्यक्रममा उपस्थित हुदाँ आआफ्नो भेषभुषा झल्किने लुगा लगाएर आउन आग्रह गरे ।

क्षेत्रीले बेलायतस्थित बुद्धिजिवी, व्यवसायी, विभिन्न राजनीतिक दल निकट संगठन तथा नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियन्ता र विद्यार्थीको सहभागितामा कार्यक्रम गर्न लागिएको जनाउंदै इच्छुकलाई सहभागिताका लागि निमन्त्रणा गरेका छन् ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले देशको विषम परिस्थितिमा पनि सन् २००७ देखि लन्डनमा वर्षेनी कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउंदै आएको छ । ‘गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले नगरेपनि संगठन विभिन्न आलोचनाबीच पृथ्वी जयन्ती मनाउन कहिल्यै पछि परेन’, कार्यक्रम संयोजक भरत क्षेत्रीले भने, ‘इतिहास कसैले बंग्याउन मिल्दैन । नेपाल एकीकरणका सूत्रधार पृथ्बी नारायण शाहको योगदानलाई केही दलका नेताले बिर्सेपनि राष्ट्र निर्माता सबै नेपालीको मन मस्तिष्कमा छन् ।’

शाहले विभिन्न भूभाग एकीकरण गरि आधुनिक नेपाल निर्माण गरेको इतिहास छ ।