१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लागुऔषधसहित तीनजना पक्राउ

sarusaru
२० पुष २०७४, बिहीबार ०३:४३

कावासोती । लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्टको रुपमा हेरिएको नवलपुरमा मंगलबार प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विकास भण्डारीका अनुसार उनीहरुले जिउमा प्लाष्टिकको टेप बेरेर ढाँड, छातीमा पेशेवर शैलीमा लुकाएर ल्याएका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरु आफै लागुऔषधको सेवनकर्ता रहेको स्वीकारेको पाइएको उनले बताए । भण्डारीका अनुसार लागुऔषध सेवनकर्ता हो मात्र भनेर प्रारम्भिक सोधपुछको क्रममा स्वीकारे पनि बरामद भएको परिणाम र उनीहरुले लुकाएर ल्याएको तरिका हेर्दा उनीहरु कारोबारीसमेत रहेको सजिलै अनुमान गर्न सकिन्छ ।
नवलपुर प्रहरीले चोरमारा र डण्डाको बीच जंगलमा पर्ने ४० किलोमिटर भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । दुई दिनको अवधिमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरु पछिल्लो समय मोटरसाइकलमा आउँदा समातिने क्रम बढेपछि प्रहरीको आँखा छल्न बसको यात्रु बनेर लागुऔषध ओसारपसार गर्ने गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोट, इलाका प्रहरी कार्यालय दुम्कीबास र कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले आलोपालो गरेर नियमितरुपमा सडक चेकिङ बढाएको कारण उनीहरु उम्किन नपाएको भण्डारीले बताए ।
भण्डारीले पछिल्लो दुई दिनमा पक्राउ परेको क्रमलाई हेर्दा भारतबाट नवलपरासी र रुपन्देहीको खुला सीमानाबाट नेपाल भित्र्याइएका लागुऔषध नवलपरासीबाट नवलपुर हुुँदै चितवन, काठमाडौं र पोखरा लैजान यो बाटोलाई प्रयोग गर्ने गरेको पाइएको छ । प्रहरीले उनीहरुको साथबाट ठूलो मात्रामा लागुऔषध पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार मात्र नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ स्थित चालिस किलोमिटर भन्ने ठाउँबाट तीन जनालाई पक्राउ गरेको हो भने सोमबार एक जनालाई उनीहरु सबै बसका यात्रु भएर आउने क्रममा शंका लागेपछि चेकिङ गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको हो ।
मंगलबार प्रहरीले लु १ ख ९३ ९१ नम्बरको बसबाट लमजुङ बेसीसहर–२ निवासी २६ वर्षीय जीवन धिताललाई पक्राउ गरेको हो । धितालको साथबाट प्रहरीले डाइजापाम (सेरिजेक) १०० एम्पुल, फेनारगन १०० एम्पुल र नुफिन १०० एम्पुल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ख ९१ ४७ नम्बरको बसबा सिराहा जिल्लाको विष्णुपुर गाउपालिका गर्दी घर भई हाल काठमाडौं चाबेल बस्दै आएका १७ वर्षीय शुरेस लामा, मोरङ गोविन्दपुर गाउँपालिका–७ निवासी २० वर्षीय आकाश राई र दार्जिलिङ घर भई हाल काठमाडौं बौद्ध बस्दै आएका २३ वर्षीय मनोज लामालाई पक्राउ गरेको छ । लामो समूहमा आएका मध्ये शुरेस लामोको शरीरबाट नाइट्राभ्याट ८० पत्तामा १५ ट्याब्लेटका दरले एक हजार २०० ट्याब्लेट बरामद गरेको जनाएको छ ।
त्यस्तै सोमबार प्रहरीले सोही ठाउँबाट दोलखा देउराली बस्ने १७ वर्षका सुनिल लामालाई लागुऔषधसहित पक्राउ गरेको थियो ।
बसमा सवार रहेका लामाको साथबाट प्रहरीले फेनारगन १५ एम्पुल, नुफ्रिन १५ एम्पुल र डाइजोपाम सेरिजम १५ एम्पुल बरामद गरेको थियो ।

– चितवन पोष्टबाट ।