१३ बैशाख २०८१, बिहीबार
Follow Us

सर्वदलीय बैठक निष्कर्षविहिन

नेपालब्रिटेन डट कम्
२० पुष २०७४, बिहीबार ०६:३०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिनु पर्ने प्रस्ताव गर्नु भएको छ । यद्यपि, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् । सर्वदलीय बैठक निष्कर्षविहिन टुंगियो ।
प्रधानमन्त्री देउवाले आज विहान बालुवाटारमा बोलाएको पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोकिनु पर्ने प्रस्ताव गर्नु भएको थियो ।
दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने सरकारको तयारी थियो । तर, एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न चाहेनन् । केही दिनदेखि आराम गरिरहेका एमाले अध्यक्ष केपी ओली बैठकमा सहभागि हुनु भएन । एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेलसहितका नेताहरु बालुवाटार पुग्नु भएको थियो ।
उनीहरु प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका छन् । बैठकपछि एमाले नेता अग्नि खरेलले, ‘प्रधानमन्त्रीले प्रदेश केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा सहमति गरौं भन्नुभयो । हामीले प्रदेश केन्द्र कहाँ बनाउने भन्ने रिपोर्ट हामीलाई दिइएको छैन, यो काम सरकारको हो सरकारले गरोस् भन्यौं’ भन्नु भएको छ । काँग्रेस नेता कृष्ण सिटौलाले ‘एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले राजनीतिक सहमति गर्नु परेको हो,’ भन्नु भएको छ । केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले पत्रकारहरुसँग कुरा गर्दै एमाले देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नै नलिने बताउनु भएको थियो ।