July 11, 2020
2:07 PM | 6:52 PM

‘नयाँ सरकार गठन अघि नै पार्टी एकता’

  4th January 2018 मा प्रकाशित

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा जोड दिइएको बताएका छन् । प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार संयुक्तरुपमा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार गठनको बाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको जिकिर गरे ।
अध्यक्ष दाहालले पार्टी एकीकरणका विषयमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै आजसम्म भएका छलफलहरु सकारात्मक रहेको पनि दाबी गरे । उनले दुवै पार्टीका नेताहरुलाई समूचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद नभएको प्रस्ट पारे ।
अहिले सुशासन, समृद्धि र राष्ट्रिय एकताका विषयमा जोड दिइएको उल्लेख गर्दै उनले नेतृत्वका विषयमा गम्भीर छलफल भइरहेको बताए । दाहालले राष्ट्रियसभा निर्वाचनको मिति, प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मा बिहीबार काठमाडौंमा बसेको प्रमुख दलको बैठकले सरकारलाई नै दिएको बताए । उनले सरकारले संविधानको भावनाअनुरुप प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने उल्लेख गरे ।
अहिलेको निर्णय तुरुन्तै प्रदेशसभाले फेर्न पनि सक्ने भएकाले यसलाई ठूलो विषय बनाउनु जरुरी नभएको दाहालको भनाइ थियो । उनले राष्ट्रियसभा निर्वाचनलगत्तै नयाँ सरकार गठन हुने पनि बताए । चितवन उद्योग संघको अधिवेशन र भरतपुर महानगरपालिकाको नगरपारिषद उद्घाटन गर्न दाहाल चितवन आएका हुन् । उनी शनिबारसम्म चितवनमा रहने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया