१५ बैशाख २०८१, शनिबार
Follow Us

जनअभिमतको कदर गर्न राष्ट्रपतिद्वारा निर्वाचन आयोगलाई सुझाव

नेपालब्रिटेन डट कम्
२० पुष २०७४, बिहीबार १२:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वसनीयरूपमा सम्पन्न गराउन आयोगले गरेको कार्यको प्रशंसा गर्दै बधाई दिनुभएको आयोगले जनाएको छ ।

राष्ट्रपति भण्डारीले जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मत परिणाम संविधान र प्रचलित कानूनको मर्म र भावनाअनुसार समयमै सम्बन्धित निकायमा पेश गर्नु उपयुक्त हुने सुझाव पनि दिनुभएको थियो ।

साथै राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति नभइसकेको अवस्थामा प्रदेशसभाका सदस्य निर्वाचित भएको विवरण बुझाउन तथा शपथ ग्रहण गराउने सम्बन्धमा पनि जिज्ञासा राख्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्यको समानुपातिकतर्फको सिट बाँडफाँट गरी दलहरूले प्राप्त गरेको सिट तोक्ने कार्य सम्पन्न भई कानूनअनुसार दोस्रो पटक बन्दसूचीलाई समावेशी समूहअनुरूप सच्याएर ल्याउन दललाई आजसम्मको समय दिएको अवगत गराउनुभएको थियो ।

उहाँले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले प्राप्त गर्ने सिट संख्या तोकी दललाई पत्राचार गर्न आयोगलाई संवैधानिक एवं कानूनी अड्चन देखिएको जानकारी गराउनुभएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा हुन बाँकी नै रहँदा पनि आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई अगाडि बढाएको जानकारी गराउनुभएको थियो । भेटका अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह सहभागी हुनुहुन्थ्यो ।