१३ बैशाख २०८१, बिहीबार
Follow Us

नुवाकोटमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

sarusaru
२१ पुष २०७४, शुक्रबार ०५:१५

नुवाकोट । नुवाकोटमा बिहीबार स्काभेटर दुर्घटना र करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो । हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

चालक नभएकाले दिनभर सहचालकले नै स्काभेटर चलाएर सुरक्षित स्थानमा फर्कँदै गर्दा अनियन्त्रित भएर करिब ५० मिटर तल पुग्दा तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । शवको मुचुल्का गरी परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा बिहीबार साँझ करेन्ट लागेर स्थानीय सुनबहादुर तामाङको मृत्यु भएको छ ।

छिमेकी चन्द्रबहादुर तामाङको घर निर्माणका लागि खटिएका २८ वर्षीय तामाङले फलामको रड सोझ्याउने क्रममा विद्युतीय तारमा छोएर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनबहादुरसँगै घर बनाउन खटिएका ५७ वर्षीय मानबहादुर तामाङ करेन्ट लागेर घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि अवस्था सामान्य भएको छ ।

– अनलाइन खबरबाट ।