७ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्लोबल आइएमईको सम्पर्क कार्यालय उद्घाटन गर्न राष्ट्र बैंकका गर्भनर नेपाल लन्डन आउने

sarusaru
२१ पुष २०७४, शुक्रबार ०८:२०

लन्डन- ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल लण्डन आउने भएका छन्। गर्भनर नेपाल बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्न जनवरी तेस्रो सातामा लन्डन आउन लागेका हुन्।

गत नोभेम्बरको दोस्रो सातादेखि सञ्चालनमा रहेको ग्लोबल आइएमईको सम्पर्क कार्यालयको उद्घाटन २१ जनवरीमा अल्डरशटमा आयोजित एक भव्य समारोहका बीच हुने बेलायतका लागि प्रतिनिधि अमित चालिसेले बताए। गर्भनर नेपाल ग्लोबल आइएमई ग्रुपका प्रमुख चन्द्र ढकालसहित लन्डन आउन लागेका हुन्।

११ वर्षदेखि निरन्तर सेवा दिँदै आएको सो बैंकको कूल चुक्ता पुँजी ८ अर्व ८८ करोड छ। १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिँदै आएको सो बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय हो। यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदैै आएको छ। यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो। करिब ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन्।

यसैबीच गर्भनर नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार सो २२ जनवरी सोमबार, अल्डरशटमा हुने अन्तरक्रियामा गर्भनर नेपालका अतिरिक्त, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललगायतको सहभागिता रहनेछ। कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघ युकेले उपाध्यक्ष शेर सुनारको संयोजकत्वमा एक उपसमिति समेत गठन गरेको छ।