७ बैशाख २०८१, शुक्रबार
Follow Us

पप सम्राट ओमविक्रम बिष्टलाई एनआरएन यूकेले सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२२ पुष २०७४, शनिबार १२:०३

लन्डन । ‘म मौनतामा अल्झिरहेको एउटा जीवन‘।।’ हो, पप सम्राट ओमविक्रम बिष्ट अहिले मौन छन् गीत जस्तै । अस्वस्थ्य छन्, आवाज निस्कन्न । दुबै मृगौलाले काम गर्न छाडेका छन् । हाल अमेरिकामा आफ्नो पुनर्जीवनको 
प्रार्थना गरिरहेका छन् बिष्ट । देश विदेशबाट उनको शीघ्र स्वास्थ्य लाभको कामना भइरहेको छ । शुभचिन्तक र विभिन्न संघसंस्था उनको उपचार सहयोगार्थ चन्दा संकलनमा जुटिरहेका छन् ।

यसै सिलसिलामा बिष्टको उपचारार्थ बेलायतमा समेत चन्दा संकलन शुरु गरिएको छ । गैर आवासीय नेपाली संघ बेलायतले आर्थिक संकलन शुरु गरेको हो । यो अभियानको नेतृत्व सोलिसिटर एवं एनआरएनए यूके सल्लाहकार राजु थापाले गरेका छन् ।

एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले गायक बिष्टको नाजुक स्वास्थ्यस्थिति अवगत गराउंदै आर्थिक सहयोग गर्न संघको अघिल्लो बैठकमा प्रस्ताव गरेपछि एनआरएनए यूकेले सोलिसिटर थापालाई संयोजक तोकेको थियो । अभियानमा थापा, गाहामगर, महासचिव राजकुमार त्रिपाठी लगायत सक्रिय छन् ।


अभियानबारे जानकारी दिन सोलिसिटर थापा बेलायतका सञ्चारकर्मीहरुसंग
सोलिसिटर थापाले नेपालका पप सम्राट बिष्टको उपचारमा सघाउन बेलायतस्थित समस्त नेपालीमा अपिल गरेका छन् । ‘गायक बिष्ट नेपालको राष्ट्रिय गायक मात्र होइनन्, उनी देशको धरोहर र इतिहास पनि हुन्’, थापाले भने, ‘थोरै भएपनि सहयोग गरेर उनलाई बचाउनु पर्ने दायित्व हामीमा आएको छ । कृपया यस अभियानमा तपाईंहरु सबैको सहयोग भए उनी बांच्नेछन् ।’

चर्चित साहित्यकार दौलत विक्रम बिष्टका माहिला छोरा ओम सानै देखि संगीतमा तल्लीन थिए । दश वर्षको उमेरमै बिष्टले ‘अल नेपाल म्यूजिक कम्पिटिसन’ मा भाग लिएका थिए । संगीत करिअरको तीन दशकमा उनले कयौं पप तथा आधुनिक गीत गाएका छन् ।

उनले तत्कालिन राजा महेन्द्रबाट छिन्नलता पुरस्कार, स्वर्गीय युवराज दीपेन्द्रबाट मिलेनियम अवार्ड २००२, मलेसियामा गोल्डेन काइट अवार्ड लगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेका छन् । मौलिक नेपाली संगीतको दबदबा भइरहंदा बिष्टले नेपालमा पृथक पप संगीत भित्रयाएर नयां आयाम थपेका थिए ।

बिष्टलाई यसअघि क्षेत्री समाज बेलायतले पनि एक हजार पाउण्ड सहयोग गरेको थियो ।

बिष्टलाई आर्थिक सहयोग गर्न इच्छुकले निम्न बैंक खातामा पैसा डिपोजिट गर्न सक्नेछन् ।

Lloyds Bank
NRNA UK Ltd
Sort Code- 30-99-88
Account Number- 50757760
Reference- Your name