४ बैशाख २०८१, मंगलवार
Follow Us

सिंहदरबारभित्रका कर्मचारीले यस्तो ब्रह्मलुट गरे

sarusaru
२४ पुष २०७४, सोमबार ०२:४५

व्यवस्थापिका–संसद् सचिवालयमा बा १ झ् ४४२८ नम्बरको ल्याण्डरोभर जीप थन्किएको तीन वर्ष भयो । २०७४ भदौ अन्तिम हप्तासम्म उक्त जीप सिंहदरबारस्थित संसद् सचिवालयको दुई नम्बर भवनको पश्चिम छेउमा थियो । लिलाम प्रक्रियामा राखिएको उक्त जीपलाई अहिले भवन पछाडि चमेना गृह अघिल्तिर राखिएको छ । आर्थिक वर्ष २०७३÷७४ मा उक्त जीपको मर्मत खर्च १६ हजार ७२४ छ । गुड्दागुड्दै ८ महीनाअघि थन्काइएका बा १ झ् ५३८२ र बा १ झ् ५३८३ नम्बरका टाटासुमो जीपको आर्थिक वर्ष २०७३÷७४ को मर्मत खर्च क्रमशः रु.१ लाख ६० हजार ४६९ र रु.२ लाख ७८ हजार ७८२ देखाइएको छ । संसद्को सवारी साधन शाखाले यी दुई जीपलाई लिलामीको प्रक्रियामा राखेको छ । त्यस्तै, संसद् सचिवालयको दुई नम्बर भवन अगाडिको पार्किङमा एक वर्षदेखि थन्किएको बा १ झ् ५८६८ नम्बरको मित्सुविसी पजेरोको मर्मतमा रु.२ लाख ८६ हजार ८९६ लागेको खर्च विवरणमा उल्लेख छ ।

मर्मतमा जोडबल

सवारी व्यवस्थापन शाखाको रेकर्ड हेर्दा संसद् सचिवालयमा मोटरसाइकल बाहेक ठूला–साना १०९ वटा गाडी छन् । सचिवालयका चालकहरूको संस्था संसद् सचिवालय चालक कोषका अध्यक्ष शंकर भण्डारी संसदीय समितिहरूका पदाधिकारी तथा कर्मचारीका लागि नयाँ र राम्रो कन्डिसनका गाडी नै पर्याप्त रहेको बताउँछन् । “तर, चालकलाई माग फारम भराएर पुराना गाडी मर्मत गर्न जोड दिइन्छ” भण्डारी भन्छन्, “यो अनियमितता विरुद्ध धेरै आवाज उठाइसक्यौं, अब आन्दोलनमा उत्रिन्छौं ।”

गाडी मर्मतमा हुने लाभ हेरेर यसो गरिएको भनिरहनु पर्दैन । कतिसम्म भने, नयाँ गाडीहरू हुँदाहुँदै २०७३÷७४ मा दुई वर्षदेखि थन्क्याएर राखिएका चारवटा स्यान्ट्रो कार मर्मत गरियो । बा १ झ् ६६६९ नम्बरको स्यान्ट्रो मर्मतका नाममा रु.१ लाख २० हजार १५३, बा १ झ् ६६७० को लागि रु.१ लाख १७ हजार ७१, बा १ झ् ६६७१ को लागि रु.५१ हजार ७० र बा १ झ् ६६७२ को लागि रु.१७ हजार १८१ खर्च भएको देखाइयो ।

सवारी शाखाले ‘गाडी मर्मत’ बाट आउने कमिशनका कारण पुराना गाडीमा बढी रुचि राखेको चालकहरू बताउँछन् । उनीहरूका अनुसार, यसमा प्राविधिक शाखाका सहायक प्राविधिक र आन्तरिक प्रशासन शाखादेखि ग्यारेज, लेखा शाखा र मोटरपार्टस्का व्यापारीसम्मको मिलेमतो हुन्छ । व्यवस्थापिका–संसद्को प्राविधिक शाखामा प्राविधिक अधिकृत नरेश श्रेष्ठ छन् ।

व्यवस्थापिक संसद्को सवारी साधन शाखाका प्रमुख नेत्रबहादुर कार्की संसद् सचिवालयबाट गाडी सुविधा लिने विभिन्न समितिका सभापति, सांसद् तथा पदाधिकारीहरूका गाडी मर्मतका लागि टेन्डर आह्वानमार्फत छनोट भएको मोटर पार्टस्सँग खरीद सम्झैता अनुसार सामान खरीद गरेर गाडी मर्मतका लागि ग्यारेजमा दिइने बताउँछन् ।

“गाडी मर्मतमा कसैले बद्मासी गरेको भेट्टाए हामी त्यसलाई कार्बाही गर्छौं, प्रमाणसहित आउनुप¥यो, हचुवाका भरमा भनेर हुँदैन” कार्की भन्छन्, “हामीसँग चालक हुन्छन्, हाम्रा प्राविधिकले सामान फेरेको हो कि होइन, सबै कुराको चेकजाँच हुन्छ, यहाँ कुनै फेक काम हुँदैन, गल्ती गर्नेलाई सजाय दिइन्छ ।”

यत्रो मिलेमतोबाट ‘मर्मत’ गरिएका सवारी साधनलाई थन्क्याएर लिलामीमा दिइन्छ । आव २०७३÷७४ मा रु.१ लाख २५ हजार ९९५ मर्मत खर्च देखाइएको बा १ झ् ४४७१ नम्बरको मारुती कारलाई लिलाममा राखिएको छ । त्यस्तै, रु.२३ हजार ३९५ मा मर्मत गरेको देखाइएको बा १ झ् ४४७२ नम्बरको मारुती कार, रु.९३ हजार ८०६ मा मर्मत गरिएको बा १ झ् ५३७३, र रु.१ लाख ३२ हजार १९४ मर्मत खर्च देखाइएको बा १ झ् ५३७४ नम्बरको टाटासुमो जीपलाई पनि लिलाममा राखिएको छ ।

मन्त्रिपरिषद्ले दुर्घटना, ट्राफिक जाम र प्रदूषण न्यून गर्न १८ फागुन २०७१ मा २० वर्ष पुराना गाडी हटाउने निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार, यातायात व्यवस्था विभागले गत वर्षदेखि २० वर्ष पुराना गाडी हटाउने अभियान सञ्चालन ग¥यो । तर, संसद् सचिवालयले २० वर्षभन्दा पुराना गाडी खोजी–खोजी मर्मत गरेको देखिन्छ । सचिवालयले आव २०७३÷७४ मा मर्मत गरेका बा १ झ् ४४२८ नम्बरको ल्याण्डकुजर जीप, बा १ झ् ४४७१ र ४४७२ का मारुती कार सन् १९९५ मा बनेका हुन् ।

एउटैलाई रु.१९ लाख

व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३÷७४ मा ६८ वटा सवारी साधन मर्मतका लागि रु.१ करोड ३२ लाख ९ हजार ६१४ खर्च गरेको छ । त्यसमध्ये सबभन्दा बढी रु.१९ लाख ३४ हजार ४२७ तत्कालीन उप–सभामुख गंगाप्रसाद यादवले प्रयोग गर्ने बा २ झ् १३४८ नम्बरको मित्सुविसी जीप मर्मतमा भएको देखिन्छ । त्यस्तै, विकास समितिका सभापति रवीन्द्र अधिकारीले प्रयोग गरेको बा १ झ् ८४८१ नम्बरको स्कारपियो मर्मतमा रु.२ लाख ८९ हजार ७३९, लक्ष्मणलाल कर्णले प्रयोग गरेको बा १ झ् ८४८२ नम्बरको स्कारपियो मर्मतमा रु.१ लाख ९७ हजार ७३, जनकराज चौधरीले प्रयोग गरेको बा १ झ् ४४३ नम्बरको स्कारपियो मर्मतमा रु.३ लाख ६१ हजार ३३६ खर्च भएको देखिन्छ ।

कर्णले दोस्रो संविधानसभा निर्वाचनमा भएको धाँधली छानबिनका लागि गठित समितिको संयोजक र चौधरीले वातावरण संरक्षण समितिको सभापतिको हैसियतमा गाडी सुविधा पाएका थिए ।

त्यसैगरी, सांसद् गंगा चौधरीले प्रयोग गरेको बा १ झ् ८४८४ नम्बरको स्कारपियो जीप मर्मतमा रु.५ लाख ९२ हजार ९३८, लक्ष्मीकुमारी चौधरीले प्रयोग गरेको बा १ झ् ८४८६ नम्बरको स्कारपियो मर्मतमा रु.३ लाख ६५ हजार ५६५, अग्नि खरेलले प्रयोग गरेको बा १ झ् ८४८८ मर्मतमा रु.२ लाख ३९ ८०७ र रञ्जुकुमारी झले प्रयोग गरेकोे बा १ झ् ८४८९ नम्बरको स्कारपियो मर्मतमा रु.१ लाख ३३ हजार ६३८, गोकुल घर्तीले प्रयोग गरेको बा १ झ् ८४९१ को स्कारपियो मर्मतमा रु.१ लाख २१ हजार ३१३, मोहन बरालले प्रयोग गरेको बा १ झ् ८४९२ स्कारपियो मर्मतमा रु.३ लाख ८ हजार २७१ र जनार्दन शर्माले प्रयोग गरेको बा १ झ् ८४९३ नम्बरको स्कारपियो मर्मतमा रु.१ लाख ९५ हजार २९६ खर्च भएको देखाइएको छ ।
– टिभि अन्नपूर्णबाट ।