६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन क्षेत्रीय सम्मेलनमा हिलारी क्लिन्टनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण

नेपालब्रिटेन डट कम्
३२ श्रावण २०७३, मंगलवार २२:१०

न्यूयोर्क— अगष्ट २७ र २८ अमेरिकाको न्यूजर्सीमा हुने गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। क्षेत्रीय सम्मेलनको उद्‌घाटन पूर्वसभामुख एवं एमाले नेता सुभाषचन्द्र नेम्वाडले गर्नेछन्।

डेमोक्र्याटबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टन र अमेरिकी विदेश सचिव जोन केरीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिए पनि आउने कुनै टुंगो छैन। नेपालमा परराष्ट्रमन्त्री पनि चयन नभएको सन्दर्भमा पूर्वसभामुख नेम्वाडलाई प्रमुख अतिथि आमन्त्रण गरिएको आयोजकले बताएका छन्।

क्षेत्रीय सम्मेलनका लागि सहभागी हुनेहरुको रजिष्टेसन अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा विश्वभरिका ७३ देशबाट करिब ४ सय गैरआवासिय नेपाली सहभागी हुने अनुमान छ। अमेरिकाको न्यूजर्सीस्थित डबल ट्री हिल्टन होटलमा हुने सम्मेलनमा ७३ देशका प्रतिनिधि, केन्द्रिय कार्यसमिति र क्षेत्रिय समितिका प्रतिनिधिहरुका साथै नेपालबाट गरी चार सयको हाराहारीमा सहभागिता रहने अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामाले बताए।

सम्मेलनका लागि अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाको संयोजकत्वमा १४ सदस्यीय मुल तयारी समितीका साथै अन्य २० वटा उपसमितीले आफ्नो तयारी लगभग सकेकका छन्।

सम्मेलनमा फोर्ब्स म्यागेजिनमा अर्बपतिको सूचिमा पर्न सफल धनाढ्य विनोद चौधरी तथा उनको भन्दा बढी सम्पति भएको अनुमान गरिएका एनअारएनका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो सहभागी हुनेछन्।
‘एनआरएनए भिजन २०२० एण्ड वियोन्ड’ नारा रहेको यसपटकको क्षेत्रीय सम्मेलनमा मुलत भुकम्पपछिको पुर्ननिर्माणमा एनआरएनको भूमिका, एनआरएनएको संस्था स्थापनापछिको १३ वर्षको समीक्षा, संगठनको दीर्घकालीन नयाँ योजना प्रस्तुत हुनुका साथै विभिन्न विषयमा कार्यपत्रहरु प्रस्तुत हुने क्षेत्रिय उपसंयोजक एसी शेर्पाले बताए।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदले संगठनलाई समयानुकूल परिर्वतन गर्दै दीर्घकालीन रुपमा अघि बढाउने योजना अनुरुप २०२० को भिजन प्रस्तुत गर्न लागिएको हो। २०२० पछिको कार्य योजना प्रस्तुत गर्दै समय सन्र्दभ र बढ्दो नेपाली प्रवासीको अकर्षणलाई व्यवस्थापन गर्नुका साथै नेपालमा लगानी र पुर्ननिर्माणमा विषेश ध्यान केन्द्रित गर्न अमेरिकामा हुन गैरहेको क्षेत्रिय सम्मेलन फलदायी हुने अमेरिकाका एनआरएन अध्यक्ष डा.केशव पौडेलले बताए।

गैरआवासीय नेपालीको संख्या जाँदा र सो अनुसार संस्थागत चुनौतीलाई सम्बोधन गर्न प्रवासमा नेपालीका बग्रेल्ती समस्याहरु समाधानका लागि पनि संस्थालाई दायित्व थपिँदै गएको छ।

सम्मेलनमा एनआरएनए अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हिराचन, जिवा लामिछाने, उपाध्यक्ष भवन भट्ट, कुमार पन्त, महासचिव डा.बद्री केसी तथा व्यापारी विनोद चौधरी सहभागी हुने तय भएको छ।

सम्मेलनमा आआफ्नो देशको प्रतिवेदनहरु, अन्तर्राष्टिय समन्वय परिषदको विभिन्न प्रतिवेदनहरुका साथै केही विषयगत कार्यपत्रहरु प्रस्तुत हुने एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्ण पोख्रेलले बताए।

सम्मेलन मुलत नेपालको भुकम्पपछिको पुर्ननिर्माणमा एनआरएनको भूमिकाको बारेमा छलफल केन्द्रित हुने उनको भनाई छ।

सम्मेलनलाई बिशेष बनाउनको लागि सञ्चारकर्मीका लागि बिशेष समय व्यवस्थापन गरी एउटा सत्र नै सञ्चालन गरिने सञ्चार संयोजक कृष्ण केसीले बताए। गैरआवासीय नेपाली संघ र नेपाली सञ्चारकर्मीहरुको विश्वसञ्जाल नयाँ विषय प्रवेश भएकोले संस्थालाई प्रचारप्रसारमा थप सहयोग हुने केसीको भनाई रहेको छ।

यस अघि सन् २०१० मा अमेरिकाको ह्युष्टनमा क्षेत्रिय सम्म्मेलन भएको थियो। एनआरएनको विश्वसम्मेलनले पारित गरेको कार्यदिशाको कार्यन्वयनको अवस्थाका बारेमा छलफल हुने भएकोले यसलाई मिनि विश्व सम्मेलनको रुपमा हेरिएको छ। यस्तो खालको क्षेत्रिय सम्मेलन एनआरएनले हरेक क्षेत्रमा पालैपालो गर्दै आएको छ।

हरेक दुई वर्षमा गरिने क्षेत्रिय सम्मेलन ६ वटा क्षेत्रमा गर्दा १२ वर्षमा एक पटक सम्बन्धित क्षेत्रको पालो आउने हुनाले हरेक एनसीसीले त्यसलाई काम गर्ने अवसरका रुपमा लिन्छन्।

– हाेमप्रसाद लम्साल, न्युयाेर्क