१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिरियाको इद्लिवमा २१ सर्वसाधारण मारिए

नेपालब्रिटेन डट कम्
२४ पुष २०७४, सोमबार २३:०४

बेरुत । सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिवमा विद्रोहीहरूको अखडालाई लक्षित गरेर गरिएको हवाई कारबाहीमा परी कम्तीमा पनि २१ सर्वसाधारणको मृत्यु भएको छ ।

यस आक्रमणमा मारिएकामा आठजना बालबालिकासमेत रहेका मानवअधिकारवादी समूहले सोमबार जनाएको छ ।

दक्षिणपूर्वी प्रान्तको शहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै परिवारका सदस्य रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सिरियाली सरकार र रुससँग आबद्ध हवाई आक्रमण आज इद्लिवको कैयौँ स्थानमा जारी रहेको बेलायतसँग आबद्ध मानवअधिकारवादी संस्था अब्जरभेटरीका प्रमुृख अब्देल रहमानले बताएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र आइएस हाबी हुँदै अएको छ ।

यस कारबाहीमा परी सो समयदेखि हालसम्म चार लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौँ सर्वसाधारण र सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

यो गृहयुद्धका कारण यहाँका लाखौँ नागरिक देशभित्र र छिमेकी देशहरूमा विस्थापित भएर शरणार्थीका रूपमा जीवन बिताउन बाध्य भएका छन् ।
रासस