१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेविसंघको मतदान अपरान्ह १२ बजेदेखि सुरु

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार ०८:०१

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्रक्रिया प्राविधिक कारणले अपरान्ह १२ बजेदेखि मात्र सुरु भएको छ । सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मतदान गर्ने कार्यक्रम सार्वजनिक भएको थियो ।

केही पदमा विद्युतीय उपकरण तथा केही पदमा कागजी मतपत्रद्वारा मतदान गराउन निर्वाचन समितिलाई प्राविधिक समस्या देखिएपछि मतदान मतदान ४ घन्टा ढिलो सुरु गर्नुपरेको थियो ।

अध्यक्षमा आठजनाले उम्मेदवारी दिए पनि पदमराज पन्तले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की प्रतिस्पर्धामा रहनुभएको छ ।

त्यसैगरी, महामन्त्रीमा छ जनाले उम्मेदवारी दिए पनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहनुभएकोे छ ।

त्यस्तै कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित हुनुभएको छ । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी ५०० भन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको ११आँै महाधिवेशन उद्घाटन भएको १० दिनपछि नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको थियो । नौ वर्षपछि भएको सङ्घको ११आँै महाधिवेशन नेकाका पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते उद्घाटन गर्नुभएको थियो ।