८ बैशाख २०८१, शनिबार
Follow Us

धेरैको धन्यवादको पात्र भएँ

नेपालब्रिटेन डट कम्
२५ पुष २०७४, मंगलवार १२:४६

पुष्पकुमारी झा, जिल्ला निर्वाचन अधिकारी, धनुषा
धनुषामा निर्वाचन गराउने जिम्मेवारी पाएकी थिइन् पुष्पाकुमारी झाले । स्थानीय तहको निर्वाचन पटक पटक सरेकोमा त्यसलाई त्यति सहज मानिएको थिएन । तर १८ वटा स्थानीय तहको निर्वाचन र पछिल्लो संघीय संसद्को निर्वाचन कुशलतापूर्वक सम्पन्न भए । निर्वाचन अधिकृत झा भन्छिन्, ‘राजनीतिक दलले निर्वाचन चाहेको थियो, सकुशल सम्पन्न भयो । हामीले त व्यवस्थापन मात्र गरिदिएका हौं ।’ निर्वाचनको अनुभव र सरकारी सेवामा प्रवेशका बारेमा झासँग गरिएको कुराकानी ः

० निर्वाचन सफलतापूर्वक गराउनुभयो होइन ?
– यो मैले भन्ने विषय होइन, मेघा इभेन्ट विवादरहित सजिलोसँग सफलतापूर्वक सम्पन्न भएको जगजाहेर छ ।

० चुनौती कस्ता थिए ?
– धेरै चुनौती थिए, त्यसलाई मैले कुशलतापूर्वक व्यवस्थापन गरें । मुख्य कुरो हाम्रो स्टेक होल्डर भनेका राजनीतिक दलहरू हुन्, उनीहरू नै निर्वाचनमा होमिएपछि हामीलाई काम सम्पन्न गर्न सजिलो भयो ।

० लोकल भएर पनि चुनाव गराउन सजिलो भयो होला नि ?
– त्यो पनि एउटा फ्याक्टर हुनसक्छ । हाम्रै छोरीचेली निर्वाचन प्रमुख छिन् भन्ने एउटा मानसिकताले पनि काम ग¥यो । मलाई पनि चिनजानका साथीभाइसँग काम गर्न सजिलो भयो ।

० कुनै विवाद आएन ?
– नियम कानुनबमोजिम स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने हाम्रो काम थियो, हामीले त्यहीअनुरूप काम ग¥यौं । निर्वाचन गराउने जिम्मेवारी मात्र हाम्रो भएकाले विवाद आउने कुरै भएन ।

० महिलाले पनि यो जिम्मेवारी पूरा गर्न सक्छन् र भन्ने निस्केनन् ?
– पुरुषप्रधान नेपाली समाजमा त्यस्तो सवाल गर्नेहरू निस्कन्छन् । अझ मधेसको पृष्ठभूमिमा महिलालाई दोस्रो तहको दृष्टिकोणले हेर्ने प्रशस्त भेटिन्छन् । यी स्वाभाविक कुरा हुन्, त्यस्तो व्यक्तिको मुखमा बुझो लगाउनकै लागि मैले आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ लिएकी थिएँ, त्यहीअनुरूप मेहनत पनि गरें ।

० निर्वाचन सम्पन्न भएपछि के भने ?
– राजनीतिक दलका नेता तथा मेरो धेरै शुभच्छुकले धन्यवाद दिए । धेरैले नसोचेको कुरा मैले पारदर्शी ढंगले पूरा गरें, जसले गर्दा आमजनताको निर्वाचनप्रति विश्वास वृद्धि भएको ठानेकी छु ।

० उदाहरणीय पात्र बन्नुभयो ?
– मैले सम्पन्न गरेको कामबाट महिलाप्रति सकारात्मक म्यासेज गएको छ । अवसर र जिम्मेवारी दिँदा महिला र पुरुष छुटाउनु हुँदैन ।

० निर्वाचन सम्पन्न गर्न कति मेहनत गर्नुभयो ?
– मेहनतको त कुरै नगरौं, बिहान ६ बजेदेखि राति ११ बजेसम्म कार्यालयकै काममा व्यस्त भइन्थ्यो, घरपरिवारको जिम्मा श्रीमान्लाई लगाएको थिएँ । घरपरिवारको सहयोग पाएर नै मैले यो मेघा इभेन्ट सम्पन्न गर्ने अवसर पाएँ ।

० निर्वाचन आयोगमा बसेको अनुभव लामै होला नि ?
– त्यति लामो होइन, ०७१ सालमा आयोगमा आएँ । अधिकृत भएपछि म ११ महिना भूमिसुधार मन्त्रालयअन्तर्गत मालपोत कार्यालय धनुषामा थिएँ, त्यसपछि डेढ वर्ष लोकसेवा आयोगमा बसें । त्यसपछि आयोगमा पुगेकी हुँ ।

० सिधैं सरकारी सेवामा प्रवेश गर्नुभएको हो ?
– होइन, केही समय शिक्षक भएँ, त्यसपछि एउटा परियोजनामा झन्डै पाँच वर्ष जागिर खाएँ । त्यही परियोजनामा काम गर्दै लोकसेवा पढ्न थालें । ०६६ सालमा आरक्षणको व्यवस्थाले गर्दा सरकारी सेवामा प्रवेश गर्ने आँट आयो ।

० सरकारी जागिर खानुपर्छ भनेर कसले पे्ररणा दियो ?
– मेरो बुवा पनि सरकारी सेवामै हुनुहुन्थ्यो, सन्तान सबै सरकारी सेवामा हुनुपर्छ भन्ने बुबाको सपना थियो । त्यही सपना पूरा गर्ने अठोट मैले पनि लिएकी हुँ ।

० बुबाका सन्तान कति ?
– तीन दिदीबहिनी र एकजना भाइ । म माइली हुँ, ठूली दिदी गृहणी, बहिनी कर अधिकृत, भाइ चार्टर एकाउन्टेन्ट छ ।

० स्कुलदेखि नै लोकसेवाको तयारी हुन्थ्यो ?
– त्यस्तो होइन, गाउँमै पढियो, हुर्कियौं । मैले नगराइनको राजेश्वर निधि माविमा पढेको हुँ । पढाइ औषतमा ठीकै थियो ।

० छोरीले पढ्ने वातावरण कस्तो थियो ?
– यसर्थमा म आफूलाई भाग्यमानी ठान्छु, हामीले कहिल्यै विभेदको महसुस गर्न पाएनौं । अनुशासन र पठनपाठनबाहेक हामीले अरु केही जानेनौं पनि ।

० दिदीले त पढ्न पाउनु भएन छ ?
– उहाँले नपढ्नु भएको होइन, हाम्रो मामाघर भारतमा थियो, जहाँ मैथिली मात्र बोलिन्छ । भाषिक त्रुटिले गर्दा उहाँले नेपाल सरकारको जागिर खान नसक्नु भएको हो ।

० जागिर खाएर पनि लोकसेवामा नाम निकाल्नुभयो ?
– परियोजनामा जागिर थियो, अफिसमा खासै काम हुँदैन थियो, त्यहीँ किताब लिएर जान्थें, पढ्थें । घरमा चाहिँ तीनजनाको समूह बनाएर सामूहिक अध्ययन गरिन्थ्यो ।

० अध्ययनलाई कति समय दिनुहुन्थ्यो ?
– त्यसरी समय नै विनियोजन गरेर पढेको थिइनँ, तर बिहान ३ बजे उठ्थें, कार्यालय जानुअघिसम्म अध्ययन गर्थें । अध्ययन र घरको काममा श्रीमान्को सहयोग मेरा लागि महत्वपूर्ण रह्यो ।

० श्रीमान् कहाँ भेट्नुभयो ?
– हाम्रो पहिलेदेखि नै चिनजान थियो, घरबाट विवाह गर्दिनुभयो ।

० कति समय मायापे्रम बस्यो ?
– त्यस्तो निजी कुरातिर नजाऔं, त्यसले कुनै अर्थ राख्दैन ।

० के गर्नुहुन्छ श्रीमान् ?
– युएनको प्रशासनमा हुनुहुन्छ ।

० छोराछोरी ?

– छोराले १२ कक्षा सिध्यायो, छोरी ७ कक्षामा पढ्दै छिन् ।

० उनीहरू के बन्दैछन् ?
– यो देशका असल नागरिक ।

० लोभलाग्दो परिवार बनाउन महिलाको भूमिका ?
– विश्वास सबैभन्दा ठूलो कुरो हो, प्रकृतिले नै महिलालाई दोहोरो जिम्मेवारी दिएको छ भन्ने कुरा बिर्सनु हुँदैन । घरको वातावरण बिग्रन नदिन महिला जहिले पनि सचेत र सजग रहनुपर्छ भन्ने मलाई लाग्छ ।