१३ बैशाख २०८१, बिहीबार
Follow Us

नियमित स्वास्थ्य जाँचका लागि अध्यक्ष ओली बैंकक प्रस्थान

नेपालब्रिटेन डट कम्
२६ पुष २०७४, बुधबार ११:४४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताउनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार हो तर यसलाई ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरिएको छ ।” गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए पनि समानुपातिकतर्फको परिणाम सार्वजनिक हुन बाँकी छ ।

अध्यक्ष ओलीले संविधान कार्यान्वयन र जनताको हितका विषयमा संशोधन गर्नुपर्नेमा नकारात्मक व्याख्या गरेर लोकतन्त्रको गतिलाई अड्काउने काम भएको टिप्पणी गर्नुभयो ।

निर्वाचनबाट प्राप्त जनताको अभिमतको अवमूल्यन गरेर लोकतन्त्रअघि बढ्न नसक्ने बताउँदै उहाँले वर्तमान सरकारले सत्ता हस्तान्तरणसँग सम्बन्धित प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी तोक्नेजस्ता काम मात्र गर्न सक्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकता चाँडै हुने जनाउँदै एकता भाँड्न गरिएका सबै षड्यन्त्र असफल हुने दाबी गर्नुभयो ।
“हामीलाई नेताहरुको पदको व्यवस्थापनको चिन्ता छैन, जनताको सुख र समृद्धिको चिन्ता छ, म विदेशबाट फर्केपछि तीव्रताका साथ एकता प्रक्रिया अघि बढ्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओली बैंककस्थित बुङ्रुगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराई आगामी माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।