८ बैशाख २०८१, शनिबार
Follow Us

तिलौराकोटमा उत्खनन कार्य पुन सुरु

sarusaru
२७ पुष २०७४, बिहीबार ०२:२४

कपिलवस्तु । बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ।

प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन सुरु गरिएको हो।

विज्ञको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गर्ने बताइएको छ। उत्खननबाट टोलीले तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने अपेक्षा गरिएको पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले बताए।

उनका अनुसार तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन गरिनेछ। यसअघि तिलौराकोट दरबारभित्र मध्यभाग, पोखरीको दक्षिण भाग र निग्राधाराम कुदानमा पनि उत्खनन गरिएको थियो। पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् २०१४ देखि उत्खनन र अनुसन्धानको कार्य थाल्दै आएका हुन्।

यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्धस्थलमा अध्ययन अन्वेषण गरिनेछ। तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिया तथा नवलपरासीको रामग्राममा अन्वेषण गरिने भएको छ। उक्त अन्वेषणको काममा भूभौतिक सर्वेक्षण ९मेसिनबाट०, फिल्ड सर्वेक्षण, भिजिटर सर्वेक्षणलगायतका कार्य पनि गरिने भएको छ।

यस वर्ष जापानी नागरिक कासाइको सहयोगमा उत्खनन गर्न लागिएको हो। अहिलेसम्मको अध्ययन, अन्वेषणले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत पुगेको पुरातत्वविद्ले जानकारी दिएका छन्। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्तावित गरिएको छ, यसका लागि आवश्यक प्रमाण र कागजात जुटाउने कामसमेत भइरहेको छ।

उत्खनन टोलीमा बेलायतको डुर्हम विश्वविद्यालयका विज्ञ, नेपाल सरकार पुरातत्व विभाग र लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय तथा लुम्बिनी विश्वविद्यालयका विद्यार्थी पनि सहभागी छन्।

– रासस