१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रौतहटमा शितलहरका कारण मर्नेको संख्या ११ पुग्यो

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार ०९:००

रौतहट । लगातारको शितलहर र न्यून तापक्रमले गर्दा रौतहटमा कठ्याग्रीएर मर्नेको सँख्या एघार पुगेको छ । जिल्लाको दक्षिणी भाग पूर्ण रुपले शितलहरको प्रभावमा परेको छ । उत्तरी क्षेत्र चन्द्रनिगाहपुर र आसपासका क्षेत्रमा घाम लागे पनि सदरमुकाम गौर तुषारो र कुहिरोले ढाकिएको छ ।

गरीब तथा विपन्न वर्गका परिवारहरु चिसोले सबै भन्दा बढी प्रभावित बनेका छन भने पुराना रोगी, उच्चरक्तचाप, मुटुरोग तथा दमका बिरामीहरु थला पर्न थालेका छन । बुधवार मात्रै रौतहटमा कठ्याग्रीएर तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधवार रौतहटको परोहा सात रामपुरखापका साठी वर्षिय रामलगन प्रसाद पटेल, गौर टिकुलियाकी सत्तरी वर्षिया सियादेवी तथा गढीमाई नगरपालिका धनारी टोलका भिक्षु ठाकुर हजामको कठ्याग्रीएर मृत्यु भएको हो ।

रौतहटको परोहाका शेख समिम, नसिरुल्लाह खातुन, मरठिया देवी कुर्मी, राजदेवी ब्रह्मपुरीका अकल प्रसाद सिंह, गढीमाई समनपुरको इँटा उद्योगमा कार्यरत सर्लाही रामवनका नेक महम्मद अलि, गढीमाई सुन्दरपुरका महर्जन ठाकुर हजाम, गुजरा पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवति बडहर्वाकी सकली देवीको पनि जाडोका कारण निधन भएको छ ।

निरन्तर रुपमा चलिरहेको पश्चिमा हावा संगै बाक्लो हुस्सु र शितलहरबाट रौतहट लगायत मध्य तराईका जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । चिसोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला दैवी प्रकोप उद्धार समितिको पहलमा आगो ताप्ने व्यवस्थापन मिलाइएको छ । विभिन्न संघसंस्थाले कपडा, कम्बल वितरण गरिरहेका छन । न्यायधीस श्रीमती समूह नेपालले गौरमा एक सय भन्दा बढी सुत्केरी महिलाहरुलाई सिरक वितरण गरेको छ ।