७ बैशाख २०८१, शुक्रबार
Follow Us

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार १३:१०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उहाँले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो– “विभिन्न जातजाति, समुदायको बसोबास रहेको हाम्रो मुलुकमा सबैको भाषा, संस्कृति र रहनसहनको संरक्षण गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुद तुल्याउन सबै राजनीतिक दलको सहकार्य जरुरी छ ।”

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीसमेत रहनुभएका राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवसका दिन सरकारको तर्फबाट सार्वजनिक बिदा दिएर मनाउने निर्णय गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसलाई सबै राजनीतिक दलले पनि स्वागत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्र निर्माता शाहको शालिकमा माल्यार्पण गरेर दिवस मनाइएको छ, यसमा अब कुनै विवादको विषय छैन, पृथ्वीनारायणलाई कुनै राजनीति वा संस्थासँग जोडेर हेरिनुहुन्न, यो सम्पूर्ण नेपालीको साझा सम्मान हो ।”

समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, रक्षामन्त्री भीमसेनदास प्रधानलगायत मन्त्री, नेकपा (एमाले) का नेता सुवास नेम्वाङ, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, अधिवक्ता, पत्रकार तथा राप्रपाका नेता कार्यकर्ता र सर्वसाधारणको सहभागिता थियो ।

विगतमा हरेक वर्ष पुस २७ गते मनाइँदै आएकोमा दोस्रो जनआन्दोलनपछि सरकारले पृथ्वी जयन्तीको बिदा कटौती गरेपछि राप्रपाले हरेक वर्ष उक्त दिनलाई दिवसका रुपमा मनाउन माग गर्दै आएको थियो । यस वर्ष सरकारले पृथ्वी जयन्तीका अवसरमा औपचारिकरुपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।