१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा २९६ औं पृथ्वी जयन्ती

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार २१:०३

लण्डन । २९६ औं पृथ्वी जयन्ती बेलायतमा एक कार्यक्रमका बीच मनाइएको छ ।हरेक वर्षजस्तै यसपटक पनि संयुक्त राष्ट्रवादी नेपाली संगठनको आयोजनामा बेलायतका नेपालीले पृथ्वी जयन्ती मनाएका हुन् ।

लण्डनको वेम्वली, सडवरी टाउनमा आयोजित कार्यक्रमका सहभागीले राष्ट्रनिर्माताका रुपमा पृथ्वीनारायणको स्मरण गरे र श्रद्धापुर्वक उनको तस्बिरमा माल्यार्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, विशेष अतिथी डा राघव धिताल र एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, साहित्यकार विकलचन्द्र आचार्य, गायक योगेश्वर अमात्य, एनआरएन यूके उपाध्यक्ष ललित नेउपाने सहित बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

गणतन्त्र स्थापनापछि पहिलो पटक नेपाल सरकारले पनि यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिदै दिवसकै मान्यता दिएको थियो । यसकै फलस्वरुप बेलायतमा पनि पहिलोपटक पृथ्वी जयन्ती कर्यक्रममा नेपाली दूतावासका प्रतिनिधि सहभागी भएका हुन ।

कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले एकिकृत आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वी नारायण शाहको योगदानको अवमुल्यन हुन नहुने धारणा राखे ।

कार्यक्रममा हेमन्तराज पौडेलले स्वागत मन्तव्य राख्दै पृथ्वीनारायण शाह नायक कि खलनायक भन्ने बहस बारेमा तयार पारेको आलेख पढेर सुनाए ।

सो अवसरमा प्रमुख अतिथी दूतावासका उपप्रमुख आरन, विशेष अतिथी डा राघव धिताल र एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, साहित्यकार विकलचन्द्र आचार्य , गायक योगेश्वर अमात्य, एनआरएन यूके उपाध्यक्ष ललित नेउपाने, खगेन्द्र नेपाली, शिबजी श्रेष्ठ, पत्रकार बाचस्पति रेग्मी, सुरेशजङ शाह, हरिसिंह थापा, अर्जुन चापागाईं, कृष्णजङ शाह लगायतले मन्तव्य व्यक्त गर्दै पृथ्वीनारायण शाहको योगदान र उनको स्मृतिमा दिवस मनाउनुको औचित्यबारे बोले ।

पत्रकार फडिन्द्र भट्टराई , एनआरएन यूके उपाध्यक्ष ललित न्यौपाने, हरि सिंह थापा लगयतले पृथ्वीनारायण शाहमा समर्पित रचना पनि प्रस्तुत गरे।

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली राजनितिक दल निकट सङठनका नेताहरु भने देखिएनन् ।

कार्यक्रमका संयोजक तथा संयुक्त राष्ट्रवादी नेपाली संगठनका अध्यक्ष भरत रोकाले देशमा जस्तासुकै राजनीतिक परिवर्तनहरु भएपनि देशको इतिहास कहिल्यै परिवर्तन नहुने भन्दै हरेक वर्ष पृथ्वी जयन्ती मनाउंदै आएको बताए ।