१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनले लण्डनबाट १० अर्ब रुपैयाँबराबरको लगानी घोषणा गर्ने

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार २२:३१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँबराबरको सामूहिक लगानी गर्न सकिने जनाउँदै त्यसको खाकाका बारेमा परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । लगानी विदेशमा रहेका नेपाली, स्वदेशी लगानीकर्ता र सरकारसहितको सामूहिक लगानी हुनेछ ।
सो लगानी बारे जानकारी दिन गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु लण्डनमा भेला हुदैंछन् । नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन संघका पूर्वअध्यक्ष जीवा लामिछाने सहितको टोली जनवरी तेस्रो साता लण्डन आउन लागेको हो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यका अनुसार २२ तारिख, सोमवार दिउँसो भेटघाट रेष्टुरेन्टमा विषेश कार्यक्रमको आयोजना गरिने छ भने एनआरएन यूकेले साँझ एक सम्मान कार्यक्रमको आयोजना गर्ने छ ।

गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार सो २२ जनवरी सोमबार, अल्डरशटमा हुने अन्तरक्रियामा गर्भनर चिरन्जीवी नेपालका अतिरिक्त, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललगायतको सहभागिता रहनेछ। त्रिपाठीका अनुसार यूरोपस्थित संघका सबै पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ ।

केही समयअघि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसँग भेट गर्न गएको गैरआवासीय नेपाली संघको टोलीले नेपालमा लगानी बढाउने सम्बन्धमा छलफल गरेको थियो । एनआरएनए अध्यक्ष भवन भट्ट र पूर्वअध्यक्ष जिवा लामिछानेसहित गएको टोलीले १० अर्बको सामूहिक लगानीको प्रारम्भिक खाका प्रस्तुत गर्दै यसमा प्रमोटरका रूपमा ४१ प्रतिशत लगानी गैरआवासीय नेपालीहरूले गर्ने बताएको थियो ।

छलफलमा सहभागी एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले यसरी गर्ने लगानीमा ५/५ प्रतिशत नेपाल सरकार र निजी क्षेत्रले गर्ने र बाँकी रहेको ४९ प्रतिशत लगानी आईपीओमार्फत् वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि छुट्याइने बताएका थिए । सो अवसरमा अध्यक्ष भट्टले नेपालमा विदेशी लगानी भित्र्याउन पहल गर्न सरकार प्रमुखलाई ठूला विदेशी सहयोग साझेदार राष्ट्रहरूको स्टेट भिजिटको व्यवस्था गर्न संघले भूमिका खेल्ने बताए ।

यस भ्रमणबाट नेपालमा विदेशी लगानी भित्र्याउन पहल गर्ने संघको चाहना रहेको उनको भनाइ छ । विभिन्न देशहरूमा रहेका संघका राष्ट्रिय समन्वय परिषद्सँग आर्थिक कूटनीतिका क्षेत्रहरूमा सहकार्य र समन्वय गर्न समेत उनले अनुरोध गरेका थिए ।

स्थानीय तह, प्रतिनिधि र प्रदेश सभाको सफलतापूर्वक निर्वाचन सम्पन्न भइसकेकोले अब सबै मिलेर राष्ट्रलाई समृद्ध बनाउन सबै हातहरू एकैसाथ लाग्नुपर्ने एनआरएनएको धारणा रहेको छ । गैरआवासीय नेपालीहरूले यसका निम्ति प्रथम चरणमा दश अर्बको सामूहिक लगानी गर्ने उद्देश्य लिएको बताइएको छ । यसमा संघले परराष्ट्र मन्त्रालयलाई सहजकर्ताको भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।

संरक्षक लामिछानेले गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरै विषयहरू सरकारले सम्बोधन गरिसकेको अवस्थामा परोपकारी कार्य तथा लगानीमार्फत राष्ट्रलाई सहयोग गर्ने गैरआवासीय नेपालीहरूको दायित्व भएको बताएका छन् । पूर्वअध्यक्ष लामिछानेले लगानीलाई जलविद्युत, कृषि, पूर्वधार विकास र बैंकिडमा लगानी गर्ने योजना रहेको जानकारी दिएको एनआरएनए सचिवालयले जनाएको छ ।

सो भेटमा चार्टर्ड एकाउन्टेन्ट्स अनल भट्टाराईले आईपिओमार्फत वैदेशिक रोजगारीमा गएकाहरूलाई लगानी गराइने जानकारी दिए । सामूहिक लगानीको लागि नेपाल सरकारले धितोपत्र बोर्डमार्फत जलविद्युत आयोजनाहरूमा स्थानीयहरूलाई लगानीको लागि अग्राधिकार प्रदान गरे जस्तै व्यवस्था गर्नुपर्ने बताउँदै छिट्टै नै अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रस्तावना पेश गर्ने बताइएको छ ।

सो अवसरमा सचिव बैरागीले यसको कार्यान्वयनमा परराष्ट्र मन्त्रालय गैरआवासीय नेपाली सम्बन्धी हेर्ने निकाय भएकोले मन्त्रालयले पूर्ण सहयोग गर्ने तथा यसका लागि छुट्टै फोकल व्यक्ति तोकिदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
यसै बीच गर्भनर नेपाल बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन गर्ने भएका छन् ।

गत नोभेम्बरको दोस्रो सातादेखि सञ्चालनमा रहेको ग्लोबल आइएमईको सम्पर्क कार्यालयको उद्घाटन २१ जनवरीमा अल्डरशटमा आयोजित एक भव्य समारोहका बीच हुने बेलायतका लागि प्रतिनिधि अमित चालिसेले बताए। गर्भनर नेपाल ग्लोबल आइएमई ग्रुपका प्रमुख चन्द्र ढकालसहित लन्डन आउन लागेका हुन्।

११ वर्षदेखि निरन्तर सेवा दिँदै आएको सो बैंकको कूल चुक्ता पुँजी ८ अर्व ८८ करोड छ। १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिँदै आएको सो बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय हो। यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदैै आएको छ। यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो। करिब ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन्।