६ बैशाख २०८१, बिहीबार
Follow Us

माओवादी केन्द्रले सरकार छाडेको औपचारिक पत्र प्रधानमन्त्रीलाई बुझायो

नेपालब्रिटेन डट कम्
२८ पुष २०७४, शुक्रबार ०८:३३

काठमाडौं । नेकपा माओवादी केन्द्र सरकारवाट बाहिरिएको छ । माओवादी केन्द्रका नेता तथा विना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र प्रधानमन्त्री शेरवहादुर देउवालाई बुझाएका हुन । नयाँ जनादेश अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न लागेकाले सरकारवाट बाहिरिने निर्णय गरिएको पोखरेलले जानकारी दिए । कामचलाउ सरकारले राज्यकोष दुरुपयोग गरेको र चुनावको नतिजा आउदा पनि राजिनामा गरेकाले सरकारवाट बाहिरिने निर्णय गरेको उनले बताए ।
माओवादी केन्द्रले गत प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेपछि प्रधानमन्त्री शेरवहादुर देउवाले माओवादी केन्द्रबाट सहभागी मन्त्रीलाई असोज १७ गते विना विभागीय बनाएका थिए । विना विभागीय मन्त्रीको रुपमा तीन महिना बसेर माओवादीले सरकारवाट बाहिरिने निर्णय गरेको हो । माओवादी केन्द्रले सरकारवाट बाहिरिने निर्णय हिजै गरेको भएपनि बिहीबार सार्वजनिक विदा भएकाले त्यसको औपचारिक पत्र भने आज मात्रै प्रधानमन्त्रीलाई बुझाएको हो । उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका १७ जना मन्त्री देउवा सरकारमा सहभागी थिए ।