१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन अध्यक्ष भवन भट्टले किने १५ करोडमा जहाज, ६ महिना भित्र उडान भर्ने

नेपालब्रिटेन डट कम्
३० पुष २०७४, आईतवार ०६:२०

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएन)का अध्यक्ष भवन भट्टले नेपाल वायु सेवा निगमको बोइङ ७५७-२०० जहाज किनेका छन्। भट्टले १४ करोड ६० लाख रुपैयाँमा बोइङ किनेका हुन् ।उनले बुधवार निगमलार्इ बुझाउनुपर्ने रकम भूक्तानी गरेर जहाज किनेका हुन्। यो जहाज दुर्इ वर्षदेखि ग्राउण्डेड छ।यो विमानले ८६ हजार चार सय १० घण्टा उडान गरिसकेको छ।

भट्टले एनआरएन निर्वाचनको बेलामा जहाज किन्न डेढ करोड रुपैयाँ बैना गरेका थिए।जहाज बैना गरेपछि भट्टले थप पैसा बुझाएका थिएनन्।थप पैसा नबुझाएपछि निगम व्यवस्थापनले ४५ दिनभित्र जहाज नकिने बैना जफत गर्ने निर्णय गर्यो।यो निर्णयको म्याद सकिनु एक दिनअघि कम्पनीले बाँकी रकम बुझाएर जहाज किनेको हो।

नेपालमा होटल,संचारमाध्यम,ब्रुअरीमा लगानी गरिरहेका भट्टको हवार्इ उड्ययन व्यवसायमा समेत संलग्न छन्।सन् २०१२ सेप्टेम्बरमा बिबि एयरवेजमार्फत काठमाडौं-मलेसिया समेत सुरु भएको थियो।लिज पर्चेचमा कम्बोडियाको टोन्ले साप कम्पनीबाट बिबिले जहाज ल्याएको थियो।टोन्लेले लिज पर्चेच सकिएपछि जहाज लग्यो र बिबिको उडान रोकिएको थियो।

कम्पनी स्रोतका अनुसार निगमबाट किनेको जहाज मर्मत गरेर अन्तर्राष्ट्रिय उडान गर्नेछ।जहाज मर्मतका लागि पचास करोड रुपैयाँ खर्च हुनेछ।जहाजको इन्जिन र ल्यान्डिङ गेयर मर्मत गर्नुपर्नेछ।कम्पनीका एक कर्मचारीका अनुसार यो जहाज उडानका लागि चारदेखि पाँच महिना लाग्नेछ।

निगमबाट किनेको जहाजको रजिष्ट्रेशन बिबिमा नामसारी गरेपछि उडान प्रकृयामा लाग्ने एक कर्मचारीले बताए।दिल्ली, बैंकक, मलेसिया, दोहा लगायत देशमा उडान गर्ने कम्पनी स्रोतले बतायो।स्रोतका अनुसार छिटै अर्को जहाज पनि खरीद गरिनेछ। नयाँ जहाजबाट भने जापान, कोरिया लगायतका राष्ट्रमा उडान गर्ने स्रोतले बताएको छ।

यस्तो थियो विगत

झण्डै चार वर्षपछि बिबि एयरवेज रिभाइभ गर्दै अन्तर्राष्ट्रिय उडानको तयारी गर्दैछ।

सन् २०१२ सेप्टेम्बर १३मा कम्बोडियाबाट यात्रुसहित अवतरण गरेको जहाज।यो जहाज केही महिना काठमाडौं- क्वालालम्पुर उडान गरेको थियो

सन् २०१२ सेप्टेम्बर १३मा बिबि एयरवेजको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।कम्बोडियाको सियाम रिपबाट २ सय १ पर्यटक लिएर ७५७–२०० विमानबाट कम्पनीले आफ्नो उडान थालेको हो । बीबी एयरवेजको यो चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रुपमा संचालन आएको थियो।

एयरवेजले आफ्नो नियमित उडान असोज २५ गतेदेखि काठमाडौं-मलेसिया उडान गरेर संचालन गरेको थियो।तर बिबिको उडान धेरै समय टिकेन्।टोन्ले सापले लिज पर्चेचमा लिएको जहाज लिएर गएपछि बिबिको उडान रोकियो।चार वर्षपछि कम्पनीले एनएसिको जहाज किनेर फेरी उडानलार्इ निरन्तरता दिने योजना बनाएको छ।

– वसन्तराज उप्रेती/बिजमाण्डू