७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रियसभा निर्वाचनका लागि ४ किसिमको मतपत्र

नेपालब्रिटेन डट कम्
३० पुष २०७४, आईतवार ०७:५५

काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रियसभा निर्वाचनका लागि चारवटा मतपत्र र मतभारअनुसारको दुईवटा मतपेटिका राखिने बताएका छन् । महिला, दलित, अल्पसंख्यक वा अपाङ्ग र अन्य गरेर चारवटा समूह राखिएकाले बेग्लाबेग्लै चार वटा मतपत्र हुने प्रवक्ता ढकालले बताए । यस विषयमा राजनीतिक दलसँग छलफल भइनसकेको प्रवक्ता ढकालले बताए । पर्सी मंगलबार निर्वाचन आयोगले राजनीतिक दलसँग छलफल गर्ने तयारी गरेको छ ।

प्रवक्ता ढकालका अनुसार राष्ट्रियसभाको मतदाता भनेका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सभासद् हुन् । २ हजार ५६ मतदाता छन् । राष्ट्रियसभाको निर्वाचन २ वटा पद्धतिबाट हुनेछ । मुलुतः यो एकल संक्रमणीय प्रणालीबाट गर्ने हो । तथापि राष्ट्रियसभामा निर्वाचित हुनुपर्ने प्रत्येक प्रदेशबाट ८ जना हो । त्यसमध्ये एकजना दलित, एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट निर्वाचन गर्नुपर्नेछ । बाँकी ६ जनामध्ये ३ जना महिला र ३ जना अन्य निर्वाचित हुनुहुन्छ ।
मतदान प्रकृया भने केही फरक हुने प्रवक्ता ढकालले बताए । उनका अनुसार एकल संक्रमणीय मत प्रणालीको मतपत्रमा उम्मेदवारहरुको प्राथमिकताक्रम निर्धारण गरिएको हुन्छ ।

उदाहरणका लागि क, ख र गलगायत १० जना उम्मेदवार हुनुहुन्छ भने एउटा मतदाताले यी १० जना मतदातामध्ये तीनजनालाई प्राथमिकताका आधारमा मत संकेत गर्नुपर्छ । उदाहरणका लागि कलाई १, खलाई ३ र गलाई २ गरेर मत संकेत गर्नुपर्छ । यो भनेको एउटा मतदाताले पहिलो, दोस्रो र तेस्रो प्राथमिकता दिइसकेपछि मात्रै मत ट्रान्सफर गर्न सकिने हुन्छ । त्यसकारण यो मतपत्र केही फरक हुन्छ, ढकालले भने ।