१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले माओवादी ६०–४० भागबण्डामा सहमत

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार ०३:५४

काठमाडौं । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा दुई पार्टीबीचको भागबण्डाबारे गृहकार्य गर्न बनेको नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदल सहमति नजिक पुगेका छन् । मतदाताको संख्या र सम्भावनाको विश्लेषणपछि बाँटफाँटबारे दुबै दल सहमति नजिकै पुगेका हुन । प्रदेशमा मुख्यमन्त्री र सभामुख फरक–फरक दलको हुने गरी दुबै दलले सहमति जुटाउन लागेका हुन ।

एमालेको एकल बहुमत रहेका प्रदेशमा माओवादी केन्द्रलाई पनि सिट दिने र दुई पार्टी मिलेर बहुमत पुग्ने प्रदेशमा बराबरीकै हाराहारीमा राष्ट्रिय सभा अन्तर्गतको बहुमतीय सिट बाँड्न कार्यदल तयार भएको बताइएको छ ।

एकल संक्रमणीय प्रणालीमा पनि जित्न सक्ने ठाँउका आधारमा दुई पार्टीबाट उम्मेद्वार दिने समझदारी बनेको छ । मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्, प्रदेश सभामुख, उपसभामुख अनि समितिहरुमा सिट बाँटफाँटको मुख्य आधार साठी चालिस बनाउने सहमति छ । प्रदेशसभाको निर्वाचनमा प्रदेश नम्बर १ र ३ मा एमालेको बहुमत देखिएको छ । ती दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री हुने बताइएको छ ।

प्रदेश नम्बर ४, ५, ६ र ७ मा दुई पार्टी मिल्दा बहुमत पुग्ने र ती प्रदेशहरुमा मुख्यमन्त्रीका लागि २/२ सिट बाँड्ने तयारी छ । तीन दिनमा राष्ट्रिय सभा निर्वाचन बारेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउने गरी कार्यदलमा छलफल भैरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर उम्मेद्वारी दिएका नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा र प्रदेश सरकारमा संयुक्त रुपले जानेबारे गृहकार्य गरिरहेका छन ।