१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनले भन्यो अधुरा प्रोजेक्टमा विशेष जोड दिएका छौं (गोप्यपत्र सहित)

नेपालब्रिटेन डट कम्
१ माघ २०७४, सोमबार २०:३७

लण्डन । गैरआवासीय नेपाली संघले लाप्र्रक, एनआरएन भवन, शंखमुल पार्क लगायतका परियोजनामा विशेष जोड दिएर काम भैरहेको जनाएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता भूषण घिमीरेले संघका राष्ट्रिय समितिहरुलाई आन्तरिक परिपत्र जारी गर्दै संघमा विधानत तोकिएका पदहरुको परिपूर्ति, विभिन्न समिति तथा टास्क फोर्सहरुको निर्माण र नेपालस्थित सचिवालयलाई बढी भन्दा बढी सक्षम र चुस्त बनाउनु लगायतका आन्तरिक कामहरु भैरहेका जनाएका छन् ।
यसअघि एक समूहले संघको छविलाई धमिलो पार्ने गरी एनआरएन भवन बेच्न थालेको, लाप्र्राक परियोजना ठेक्दारलाई दिएको, सचिवालयको कर्मचारी हेरफेरमा विद्यान मिचेको भन्दै सामाजिक संजालमा हल्ला फैलाए पछि संघले आन्तरिक गोप्य परिपत्र जारी गरेको हो ।

यस्तो संघको आन्तरिक परिपत्र (पूर्णपाठ)

आदरणीय प्रमुख संरक्षक तथा संरक्षकज्युहरु,
सल्लाहकार तथा अनररी काउन्सिल समितिका सदस्यज्युहरु,
कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
नमस्कार ।

हाम्रो वर्तमान कार्यसमितिले कार्यभार सम्हालेको करिब तीन महिना हुन लागेको छ । संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गैरहेको हाम्रो गैरआवासीय नेपाली संघलाई विधानत तोकिएका पदहरुको परिपूर्ति, विभिन्न समिति तथा टास्क फोर्सहरुको निर्माण र नेपालस्थित सचिवालयलाई बढी भन्दा बढी सक्षम र चुस्त बनाउनु लगायतका आन्तरिक कामहरुमा हाम्रो यो अवधिको बढी समय खर्च भैरहेको छ । अव यी कामहरु मुलत सकिएका छन् । संस्थाको विस्तारसँगै संस्थामा गर्नु पर्ने चयन र मनोनयन पनि जटिल बन्दै गैरहेको महशुश हामी सबैले गरेकै विषय हो । त्यसकारण आफूले सोचेको ठाउँ वा पदमा रहेर काम गर्ने सबैको अपेक्षा पुरा नभएका हुनसक्छन् तर अभियान साझा र निरन्तर अघि बढ्ने विषय भएकाले हामी सबै एकजुट भएर अगाडि बढ्न सबैमा हार्दिकतापूर्वक अनुरोध गर्दछौं ।

यतिखेर हाम्रो ध्यान संघले अघिबढाएका र पुरा हुन बाँकी रहेका आयोजनाहरुलाई सम्भव भएसम्म छिटो सम्पन्न गरेर हस्तान्तरण तथा उपयोग गर्ने तर्फ केन्द्रित छ । यसका लागि अध्यक्षज्यूको नेतृत्वमा संघका पदाधिकारीहरु सहितको टोली लागिपरेको छ र कामहरुलाई द्रुत गतिमा अघि बढाइरहेको छ । अव विभिन्न समिति र टास्क फोर्सहरुले काम सुरु गरेपछि नयाँ कामहरुले पनि गतिलिने विश्वास हामीले लिएका छौं ।

पूर्व कार्यकालमा अधुरो रहेका लाप्राक नमुना बस्ती, संघको सचिवालय भवन तथा संखमुल पार्क निर्माणमा हामीले विशेष जोड दिएका छौं । संघको पहिलो प्रत्यक्ष्य बैठकमा नै ती आयोजनाहरुका ठेकेदार, परामर्शदाता सहित सम्बन्धित पक्षलाई निम्त्याएर कार्यकारी निर्देशकसंगै यी तीन वटै आयोजनाहरुका गतिबिधि अध्ययन गरिएको थियो । यी तीनवटै आयोजनाहरु अध्यक्ष्यको नेतृत्वमा अघिबढीरहेका छन् । यी सबै प्रोजेक्टहरुको स्टेरिंग कमिटी गठन भइ तदारुकताका साथ कार्य संचालन भइरहेको छ ।

लाप्राक नमूना वस्ती निर्माणका लागि अध्यक्षज्यूकै पहलमा नेपाली सेनाका ५० जवान बढाउने काम भएको छ र हाल प्रयोग भैरहेका निर्माण सामग्रीहरुमा थप सुधार गर्दै कामलाई द्रुत गतिमा अघि बढाइएको छ । महिला उपाध्यक्ष सपिला राजभण्डारीले यो आयोजनाको संयोजन गरिरहनु भएको छ । सचिवालय भवन निर्माणको काममा कामदार संख्या बढाएर थप गति प्रदान गरिएको छ ।

सकेसम्म छिटो निर्माण कार्य सम्पन्न गरी आफ्नै भवनबाट सचिवालयको कार्य सम्पादन गर्ने दिनको प्रतीक्षामा वर्तमान कार्यसमिति रहेको छ । सचिवालय भवनको संयोजन उपाध्यक्ष कुमार पन्तले गरिरहनु भएको छ । गैरआवासीय नेपाली संघले निर्माण गरिरहेको शंखमुल पार्कमा प्रयोग भैरहेका सामग्रीहरुको गुणस्तर कमसल देखिएकाले स्तरीय र मजबुत सामग्रीहरुको प्रयोग गरेर बनाउन संघले निर्देश गरेको छ ।

शंखमुल पार्कको संयोजन उपाध्यक्ष कुल आचार्यले गरिरहनु भएको छ । यो काम पनि आगामी केही महिना भित्रै सम्पन्न हुँदैछ । यी तीन ठूला आयोजनाहरुमा विगतमा संघका तर्फबाट सुपरिवेक्षण गर्ने प्राविधिक जनशक्तिको अभाव देखिएकाले संघकै तर्फबाट आन्तरिक प्राविधिक इन्जिनियर समेत व्यवस्था गरी अहिले उहाँकै निरिक्षणमा काम भैरहेको छ ।

संघको कार्यालय साधुरो देखिएको र त्यही स्थानमा थप ठाउँ नभएकाले कर्मचारीहरु सहितको आग्रह अनुसार सार्नु पर्ने निचोडमा पुगेर कार्यकारी सचिवालयको निर्णय अनुसार र्निर्माणाधिन भवनको अनुगमनका लागि पनि सहज हुने गरी टेकुबाट गैरीधारामा सारिएको छ । महाभूकम्पको समयमा संघका तर्फबाट राहत वितरण कार्यक्रम संचालनको लागि पनि उक्त कार्यालय प्रयोग गरिएको थियो । अध्यक्षज्यूले उपलब्ध गराउनुभएको उक्त कार्यालय प्रयोग बापत संघले भाडा तिर्नु नपर्ने र संघलाई कुनै थप आर्थिक भार नपर्ने पनि जानकारी गराउन चाहन्छौं ।

गैर आवासीय नेपालीहरुले बिभिन्न देशबाट ठूलो मेहनतले उठाएर संचित भएको कोषप्रति हामी अत्यन्त सचेत छौं र हाम्रा सबै कोषहरु पारदर्शी छन् र अन्तराष्ट्रिय मान्यता अनुसार अडिट हुने जानकारी गराउन चाहान्छौं । हालसम्म संघको बैंक अफ काठमाडौं, सानिमा बैंक, प्रभु बैंक, माछापुछ्रे बैंक तथा मेघा बैंकमा खाता रहेको छ । उक्त सबै बैंकहरुसंग प्रपोजल मगाई संस्थाको कोषमा जम्मा भएको रकमलाई बढी भन्दा बढी ब्याज आउने बैंकमा जम्मा गर्न कार्यकारी समितिको बैठकले कोषाध्यक्षलाई जिम्मेवारी दिएको छ र सचिवालय तथा कोषाध्यक्षले यस कामलाई अगाडि बढाइसकेको अवस्था छ । यसबाट संघले आगामी दिनमा करीब तीन प्रतिशतसम्म बढी ब्याज पाउने देखिएको छ ।

यस अवसरमा सचिवालयमा नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको विषयमा पनि केही प्रष्ट गर्नु पर्ने महशुश भएको छ । संघका यस अघिका कार्यकारी निर्देशकसँगको सम्झौता २०१७ डिसेम्बरको अन्तिममा समाप्त भयो । हालको कार्यसमितिलाई बिभिन्न अधुराकामहरु पुरागर्नु तथा धेरै नयाँ कामहरु गर्नुपर्ने चुनौती छन् । सचिवालयलाई अझ बढी चुस्त र प्रभावकारी बनाउनु पर्ने महसुस भएकोले संघमा नै विगतमा काम गरिसक्नु भएका डा. हेमन्त दवाडी काम गर्न तयार हुनुभएको र उहाँको काम र क्षमता विगतमा समेत परीक्षण भैसकेकाले र गैरआवासीय अभियानलाई नजिकबाट हेरिरहनु भएकाले पनि हामीले उहाँलाई नियुक्त गर्ने निर्णय गरेका हौं ।

कर्मचारी नियमावली भर्खरै मात्र लागु भएको, राजेश राणाजीको सम्झौता समाप्त भएको,संघका कामहरुलाई अघि बढाउन कत्ति पनि ढिला गर्न नभएको र सचिवालयको नेतृत्व तुरुन्तै परिपूर्ति गर्नु पर्ने अवस्थाले आइसिसिको पूर्ण बैठकसम्म पर्खेर निर्णय गर्न नसकिएकाले कार्यकारी सचिवालय (आइइएस) को पूर्ण बैठकले सर्बसम्मतिबाट निर्णय गरेर कर्मचारी नियमावलीले निर्देश गरेअनुसार आइसिसिबाट अनुमोदन गराउने प्रकृया अवलम्बन गरिएको हो । अब उप्रान्त सचिबालयको सम्पूर्ण कर्मचारीहरु दुई वर्षीय करार सम्झौता अन्तर्गत मात्र नियुक्त हुने र सन्तोषजनक कार्यमूल्यांकन पछि सम्झौता नविकरण गरिने जानकारी गराउन चाहन्छौं ।

हाम्रो वर्तमान कार्यसमितिले कार्यभार सम्हालेको केही दिन देखि नै संघको अभियान, संघका पदाधिकारी र कार्यहरुलाई गलत नियतका साथ निराधार कुराहरु उठाएर अनलाइन मिडिया र सामाजिक संजालहरुमा अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको देखिएको छ । सचिवालय भवन बिक्री तथा लाप्राक नमुना वस्ती ठेक्कामा दिन लागेको भन्ने जस्ता भ्रामात्मक तथा निराधार समाचार संप्रेशण गरेर संस्थाको प्रतिष्ठा माथि आँच पुर्याउन खोज्नेहरु प्रति सचेत रहन अनुरोध गर्दछौ ।

गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै गैरआवासीय तथा अन्य पत्रकार मित्र तथा संचारकर्मी साथीहरुको उल्लेखनीय योगदान छ । हामी सबै संचारकर्मी साथीहरुको उच्च मूल्यांकन गर्दै हार्दिक धन्यबाद व्यक्त गर्दछौं । संस्थाको सम्पूर्ण कार्यहरु पारदर्शी गराउने हाम्रो लक्ष्य संचारकर्मी साथीहरुको सहयोगले मात्र पुरा हुनसक्छ । संस्था सम्बन्धी कुनै पनि समाचार प्रकाशन प्रशारण गर्नु अघि आधिकारिक व्यक्ति अथवा सचिवालयमा सम्पर्क गरी पुष्टी भएपछि मात्र सम्प्रेशण गर्न समेत अनुरोध गर्दछौं ।

संघले आगामी दुई बर्षीय कार्यकालमा तय गरेका कार्यक्रम र योजनाहरु सम्पन्न गर्न सम्पूर्ण चुनौतीप्रति सचेत रहँदै संमृध्द नेपाल निर्माणको अभियानमा उल्लेख्य भूमिका निभाउन कार्यसमिति पूर्णत प्रतिबध्द रहेको पनि यसै अवसरमा अवगत गराउन चाहन्छौं ।

धन्यवाद ।

अन्तराष्ट्रिय कार्यकारी सचिवालयका तर्फबाट

भूषण घिमिरे
प्रवक्ता
गैरआवसीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद
१५ जनवरी २०१८