१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौं–तराईमधेश द्रुतमार्गको डिपिआर सेना आफैले तयार गर्ने

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार १०:११

काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई मधेश दु्रतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ ।

द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिनुभएको हो । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो । डिपिआर भारतीय पक्षसँग लिने कि नलिने भन्ने विषयमा विगतमा निकै छलफल र बहस भएको थियो ।

भारतीय पक्षसँग डिपिआरबारे सहमतिमा पुग्न समिति नै गठन गरिएको थियो । छलफलमा भारतीय पक्षले डिपिआरको मूल्य ५६ करोडभन्दा बढी माग गरेको थियो । डिपिआरका विषयमा दुवै पक्षबीच सहमति नजुटेपछि नेपाली सेनाआफैँ विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने निष्कर्षमा पुगेको हो ।
आयोजना उपप्रमुख खनालले भन्नुभयो, “द्रुतमार्गका लागि यसअघि बनाइएको डिपिआरको रकमको माग अत्यधिक उच्च रहेकाले सेनाले आफैँ नयाँ बनाउने सोचका साथ हामी अघि बढेका छौँ ।

विस्तृत अध्ययन प्रतिवेदन बनाउनका लागि आफूसँग भएको जनशक्ति अपर्याप्त हुने भए पनि परामर्शदाता संस्था र विज्ञलाई लिएर निर्माण गरिने उहाँले जानकारी दिनुभयो । नेपाली सेनाले करिब रु २० करोडको हाराहारीमा नयाँ डिपिआर तयार हुने अनुमान गरेको छ ।

गत जेठ १० गते चार वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरु भएको राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गका निर्माण लागत रु एक खर्ब २० अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ । कूल ७६.२ किमी लामो हुने उक्त प्रस्तावित द्रुतमार्गमा साना ठूला गरी ९९ पुल निर्माण गर्नुपर्ने छ । उक्त मार्गमा एक हजार ३७ (१.३७) मी लामो सुरुङ बनाउने कार्यलाईसेनाले अवसर र चुनौतीका रुपमा लिएको छ ।

उक्त मार्ग निर्माणलाई तीव्र तुल्याउने क्रममा सेनाले पाँच स्थानमा सुरक्षा आधार खडा गरिसकेको छ । आगामी चार महिनाभित्र थप पाँच स्थानमा सुरक्षा आधार खडा गरिने छ ।

दु्रतमार्ग निर्माणका लागि सेनाले हालसम्म दुई चरणमा गरी ३३१ सुरक्षाकर्मी कार्यक्षेत्रमा खटाइसकेको छ । सडक निर्माण गर्न उपकरण खरिदलगायत विषयमा २८ बोलपत्र आह्वान गरिसकिएको छ । बारा जिल्लामा दु्रतमार्ग निर्माणका लागि आवश्यक रुख कटानी भइसकेको तथा अधिकांश स्थानको मुआब्जालगायत कामको फरफारक गर्ने काम भइरहेको जनाइएको छ ।

सडक विस्तारका लागि सडक छेउका भीरपाखाको कटान र पर्खाल लगाउने काम शुरु भइसकेको पनि सेनाले जनाएको छ । एशियाली मापदण्डअनुरुपको राजमार्ग निर्माण गर्नु आफैमा चुनौती रहेको जनाउँदै सेनाले उक्त राजमार्ग निर्माण भएपछि १२० किमी प्रतिघण्टा यातायातका साधन गुड्न सक्ने जनाएको छ । सेनाले उक्त राजमार्गमा पर्ने ठूला र अग्ला पुल निर्माणका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनीलाई बोलपत्रमार्फत आह्वान गर्ने र अरु काम स्वदेशी निर्माण कम्पनी, स्थानीयवासी र सेनाले नै गर्ने जनाइएको छ । डिपिआर तयार गर्ने कार्यसँगसँगै सडक निर्माणलाई पनि तीव्ररुपले अघि बढाइने सहायकरथी खनालले जानकारी दिनुभयो ।