१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालका सबै मिडिया हाउस ‘जग्गा दलाल’

नेपालब्रिटेन डट कम्
२ माघ २०७४, मंगलवार १३:५७

काठमाडौं । नेपालका प्रायः सबै सञ्चारगृह ‘जग्गा दलाल’ भएको खुलासा भएको छ । हिजो सोमबार मुक्तिश्री प्रा.लि.का अध्यक्ष अजय सुमार्गीले जग्गाकै विषयमा विवाद सिर्जना भएपछि आफूविरुद्ध कान्तिपुर मिडिया गु्रपले एकोहोरो आक्रमण गरेको सार्वजनिक गरेपछि नेपालका अधिकांश सञ्चारगृह जग्गा विवादमा मुछिएको पाइयो ।
का.म.न.पा वडा नं. १० को कित्ता नं. ३१८ को ९ रोपनी ४ आना जग्गा कैलाशप्रसाद सिरोहियाले व्यवसायिक आर्थिक संकट दर्शाउँदै किनिदिन अनुरोध गरेका थिए । ९ रोपनी जग्गामध्ये ५ रोपनी ९ आना जग्गा २३ करोड २१ लाख १२ हजारमा २०७० साल ३ महिना १६ गते अजय सुमार्गीले किनेका थिए ।
उक्त जग्गा एक वर्षपछि सिरोहियाले पुनः पुरानै मूल्यमा किन्न खोजेपछि सुमार्गी र सिरोहियाबीच विवाद उत्पन्न भएको थियो । नयाँ व्यवसाय सुरु गर्दा कान्तिपुर मिडियो ग्रुपले कसरी गोल्डेन सेयर माग्छ भन्ने कुरा व्यवसायी सुमार्गीले हिजो पत्रकार सम्मेलनमार्फत् व्यक्ति गरेका थिए ।
जग्गा विवादमा कान्तिपुर मिडियो ग्रुप मात्र होइन, नेपाल रिपब्लिका मिडियो ग्रुपको नागरिक दैनिक र नेपाल न्युज नेटवर्क इन्टरनेशनल प्रा.लि.बाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिक पनि मुछिएका छन् । बुटवलमा आफूले देखाएको जमिन नेपाल आयल निगमले नकिनेपछि निगमका तत्कालीन जिएम गोपाल खड्काविरुद्ध नागरिक दैनिकले लगातार समाचार लेख्न थाल्यो । आफूले भनेअनुसारको जमिन किनेको हुनाले अन्नपूर्ण पोष्टले खड्काको बचाउमा समाचार लेखेको थियो ।
सञ्चारगृहको आडमा जग्गा व्यवसाय गर्न कान्तिपुर दैनिकका अध्यक्ष तथा निर्देशक कैलासप्रसाद सिरोहियाबाट सिकेका हुन् । नागरिक दैनिकका निर्देशक विनोद ज्ञवाली कान्तिपुरकै बाइप्रोडक्ट हुन् । उनले कान्तिपुरबाट अलग हुँदा प्राप्त गरेको ठूलो रकम उनले घर जग्गा व्यवसायमै लगानी गरेका थिए । जुन व्यवसाय अहिले पनि कायमै छ ।
ज्ञवाली हटेपछि हेलिकोप्टर व्यवसायी रामेश्वर थापा कान्तिपुर भित्रिए । उनी धेरै समय कान्तिपुरमा टिकेनन्, सञ्चारगृहको आडमा धेरै व्यवसाय सञ्चालन गर्न सकिने विद्या सिकेर उनी कान्तिपुरबाट बाहिरिए । थापाले तुरुन्तै अन्नपूर्णपोष्ट किनेर सञ्चारमाध्यमको आडमा जग्गा व्यवसाय सञ्चालन गर्न थाले । आयल निगमका लागि जग्गा खोज्ने जिम्मा अन्नपूर्ण पोष्टले लिएको थियो । त्यही जग्गा पहिला आफूले किन्ने र आयाल निगमलाई बेच्ने गर्दा ठूलै आम्दानी गरेको बताइन्छ ।
सञ्चारगृहको आडमा अन्य व्यवसाय गर्न नयाँ पत्रिकाका सम्पादक कृष्ण ज्वाला देवकोटाको नाम पनि अगाडि नै आउँछ । उनको व्यवसाय भने फरक किसिमको छ । उनले आम्दानी मेडिकल कलेजमा लगानी गरेका छन् । उनको लगानी विशेष गरी चितवन केन्द्रित रहेको बताइन्छ ।
– सुनयना राउत