१३ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले–माओवादी कार्यदल बैठक, सिट बाँडफँड आजै टुंग्याउने

नेपालब्रिटेन डट कम्
३ माघ २०७४, बुधबार ०७:२४

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक बस्ने भएको छ । आज अपरान्ह सिंहदरवारमा बस्ने बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफँड टुंग्याउने बताइएको छ ।

राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रले ५६ सिटमा ७० र ३० प्रतिशतको अनुपातमा बाँडफाँड गर्ने भएका छन् । यसअघि बसेको बैठकमा एमालेले निर्वाचन आयोगबाट प्राप्त मतसहितको तथ्याङ्क माओवादी नेताहरुलाई समेत दिएको थियो । आजको बैठकमा माओवादी केन्द्रलाई कुन प्रदेशमा कुन सिट भन्ने टुंगो लाग्नेछ ।

स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्ने दुई दलबीच सहमति बनेको कार्यदलका एक सदस्यले बताए । कार्यदलले आज सिटसंख्या टुंगो लगाएपछि पार्टी एकता संयोजन समितिमा पेश गर्ने र राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुख टुंग्याउने कार्यदलको तयारी छ ।