August 7, 2020
10:09 AM | 2:54 PM

यस्ता नियुक्त भए प्रदेश प्रमुख

  17/01/2018 मा प्रकाशित

काठमाडौं । सरकारले ७ वटै प्रदेशको प्रमुख नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गरेको हो । ७ मध्ये दुई जना मधेशी केन्द्रित दलसँग सम्बन्धित प्रदेश प्रमुख नियुक्त भएका छन् भने बाँकी सबै नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता नियुक्त गरेको छ । सात मध्ये दुई जना मधेशी, एक महिला र एक जनजाति छन् भने बाँकी खस आर्यन छन् ।

प्रदेश १ को प्रमुखमा डा: गोविन्द तुम्बाहाङ लिम्बु नियुक्त भएका छन् । उनी कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् । ०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका उनी २२५ भोटले हारेका थिए । चुनाव हारेपछि प्राध्यापन पेशामै फर्किएका डा। सुब्बा सिनासका प्रोफेसर हुन् ।

प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् । सुरुमा उनलाई प्रदेश ५ को प्रमुख नियुक्त गर्न लागिएको थियो तर, फोरमको दबावमा २ मा आएका छन् ।

प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी उनले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी छिन् । कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस प्रवेश गरेकी थिइन् ।

प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिल लयर्स एशोसिएसनका पूर्वअध्यक्षसमेत रहेका कुँवर सुशील कोइराला सरकारको पालामा सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता बनेका थिए ।

प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । ठाकुरकै पहलमा रेग्मी सरकारमा मन्त्री बनेका झालाई अहिले प्रदेश ५ को प्रमुख बनाइएको छ ।

प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् भने ७ नम्बर प्रदेशका मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया