२६ बैशाख २०८१, बुधबार
Follow Us

बौद्धमार्गीहरुको -यालीमा गोली प्रहार, सातको मृत्यु

नेपालब्रिटेन डट कम्
३ माघ २०७४, बुधबार १३:५८

याङ्गुन । म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको -यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको -याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ ।
एकजना प्रहरी अधिकारीले भनेका छन्– उक्त -यालीमा जम्मा भएका व्यक्ति सरकारी कार्यालय कब्जा गर्नेतर्फ अघि बढेपछि प्रहरीले गरेको कारबाहीको क्रमका सात व्यक्तिको मृत्यु भएको हो । साथै यस झडपमा परी अरू एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले एएफपी समाचार समितिलाई बताएको छ । रोहिङ्या मुसलमान समूदायको बलियो प्रभाव रहेको भनिएको सो राज्यबाट हाल छ लाखभन्दा बढी रोहिङ्ग्या भागेर बङ्गलादेश पुगेका छन् ।
उक्त राज्यमा गएको केही महिनादेखि भएको सैनिक दमनका कारण अस्तव्यस्त भएको छ । राखिनमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी जम्मा भएका थिए । यसरी जम्मा भएको जुलुस के कति कारणले अचानक हिंसामा परिणत भएको हो भने बारेमा केही प्रष्ट हुन सकेको छैन । प्रहरीले हिंसामा उत्रेको भीडलाई तितरबितर पार्न चेतावनीस्वरुप रबरको गोली प्रहार गरेको र प्रर्दशनकारीहरु त्यसपछि पनि नरोकिएपछि गोली नै प्रहार गर्न बाध्य भएको बताएको छ ।
म्यानमार प्रहरीका प्रवक्ता कर्णेल म्यो सोएले एएफपी समाचार समितिलाई बताएअनुसार उक्त भीडले सरकारी कार्यालयमा कब्जा गर्न खोजेको र त्यसपछि प्रहरीले बाध्य भएर गोली हान्नु परेको थियो । गएराति एमरक यु मन्दिर परिसरमा भएको यस हिंसामा सातको मृत्यु हुनुका साथै अन्य २० भन्दा बढी घाइते भएको प्रहरी प्रवक्ता सोएले बताउनुभएको छ ।