१५ चैत्र २०८०, बिहीबार
Follow Us

कुन प्रदेशको अस्थायी राजधानी कहाँ ? प्रदेशप्रमुख को ?

नेपालब्रिटेन डट कम्
३ माघ २०७४, बुधबार १४:१४

काठमाडौं । सरकारले अन्ततः सातओटै प्रदेशका अस्थायी मुकाम र प्रदेशप्रमुखको टुंगो लगाएको छ । बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशप्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको निर्णयअनुसार प्रदेश नम्बर–१ को अस्थायी राजधानी विराटनगर तोकिएको छ ।
प्रदेश–२ को जनकपुर, प्रदेश–३ को हेटौंडा, प्रदेश–४ को पोखरा, प्रदेश–५ को बुटवल, प्रदेश–६ को सुर्खेत र प्रदेश–७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । प्रदेशप्रमुखमा भने प्रदेश नम्बर–१ मा डा. गोविन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाप्रसाद खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।
उनीहरुलाई राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनीयताको शपथ दिलाउनुपर्नेछ । त्यसलगत्तै प्रदेशप्रमुखले प्रदेश सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्नेछ । संविधानले मुख्यमन्त्रीको नियुक्ति तथा मुख्यमन्त्री र प्रदेशमन्त्रीको शपथग्रहण गराउने दायित्व प्रदेशप्रमुखलाई दिएको छ । प्रदेशप्रमुख सम्बन्धित प्रदेशमा केन्द्र सरकारको प्रतिनिधिकोरुपमा रहन्छन् । प्रदेश राजधानी तोक्ने जिम्मा पनि संविधानले प्रदेश संसदलाई नै दिएको छ । प्रदेश संसदको दुई तिहाइ बहुमतले प्रदेश राजधानी नतोकेसम्म केन्द्र सरकारले निर्धारण गरेको अस्थायी मुकामबाटै कार्यसन्चालन हुने व्यवस्था छ ।