७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेशको अस्थायी मुकामविरुद्ध कहाँ कहाँ विरोध ?

नेपालब्रिटेन डट कम्
४ माघ २०७४, बिहीबार ०७:०८

काठमाडौं । सरकारले बुधबार सातवटै प्रदेशका अस्थायी केन्द्र तोकेपछि आज देशका बिभिन्न स्थानमा विहानैदेखि विरोध प्रदर्शन भएका छन । दुई नम्बर प्रदेशको राजधानी बीरगञ्जमा नबनाएको भन्दै घन्टाघरमा विरोध याली निकालिएको छ । प्रदर्शनकारीले विरगंजको घण्टाघर नजिक बा ह च ७३६५ नम्बरको एउटा गाडीमा तोडफोड समेत गरेका छन् । कपिलबस्तुको तौलिहवामा पनि पाँच नम्बर प्रदेशको राजधानी माग गर्दै प्रदर्शन भएको छ ।

तौलिहवा पूर्वाधार लगायतका हिसावले प्रदेश सदरमुकामका लागि उपयुक्त भएपनि कपिलबस्तु बनाइएको भन्दै आज स्थानीय राजनीतिक दलको आब्हानमा कपिलबस्तु बन्द आब्हान गरिएको छ । सरकारले पाँच नम्बर प्रदेशको राजधानी नतोकेपछि दाङमा पनि आन्दोलन चर्केको छ । प्रदेश राजधानी घोषणा नभएको विरोधमा तीन दिनदेखि दाङमा आमहड्ताल जारी छ । दाङ प्रादेशिक राजधानी सरोकार समितिले प्रदेशको राजधानी नतोकिएको भन्दै आज कालो दिनका रुपमा विरोध गर्ने तयारी गरेको छ । घोराहीको तुलसीपुर चोकमा दाङमा प्रदेश राजधानी नबनाएको विरोधमा कालो झण्डा राखिएको छ ।

उनीहरुले आजदेखि सरकारी कार्यालयमा काम गर्न नदिने घोषणा गरेका छन् । सरकारले अस्थायी मुकाम कैलाली तोकेसँगै सात नम्बर प्रदेशको डोटीमा अनिश्चितकालिन बन्द घोषणा गरिएको छ । बन्दकर्ताले पहाडी ७ वटा जिल्लाहरु जोड्ने भीमदत्त राजमार्गको बुडर क्षेत्रमा यातायात ठप्प पारेका छन् । सात नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै डोटीमा पुष १२ गतेबाट आन्दोलन जारी छ । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न ढिलाइ गरेपछि विचमा स्वरुप परिवर्तन गरिएकोमा आजवाट पुन आम हडताल शुरु भएको हो ।

उता विराटनगरमा प्रदेश नम्बर एकको राजधानी बनाउने निर्णयको विरोधमा धनकुटमा आन्दोलन चर्किएको छ । आन्दोलनकारीले धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीले उच्च अदालत विराटनगरको धनकुटा इजलाशमा पनि तोडफोड गरेका छन् । धनकुटा नगरपालिकाको वारुणयन्त्र र दमकलमा समेत तोडफोड भएको छ । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । आगजनी नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ । सरकारले प्रदेशको तत्काल कार्य संचालनका लागि प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिको छ ।