१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भुषालको उद्दारका लागि एनआरएनको १५ लाख ५० हजार रुपैयाँ

नेपालब्रिटेन डट कम्
५ माघ २०७४, शुक्रबार १४:४१

काठमाडौं । साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका स्थानेश्वर भुषालको उद्दारका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) ले १५ लाख ५० हजार उपलब्ध गराएको छ । एनआरएन अध्यक्ष भवन भट्टले परराष्ट्र सचिव शंकरदास वैरागीलाई उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन् । भुषालको उद्दारका लागि १ लाख ५० हजार रियाल (४० लाख ९८ हजार) रुपैयाँ आवश्यक परेको थियो । प्रवासी नेपाली समन्वय समितिले उठाएको रकममा नपुग एनआरएनले थपेको हो । समितिले २५ लाख ४८ हजार रुपैयाँ संकलन गरेको थियो । उक्त रकममा एनआरएनले १५ लाख ५० हजार रुपैयाँ थप गरेको हो ।

मध्यबिन्दु–४, नवलपरासीका भुसालले ब्लडमनिको रकम तिर्न नसक्दा भुषाल ६ फेब्रुअरी २०१४ देखि जेलमा छन् । प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलबहादुर कार्कीले प्रवासमा रहेका नेपालीबाट २५ लाख ४८ हजार रुपैयाँ संकलन गरेको वताए । उनले आवश्यक रकम पाइसकेपछि चन्दा संकलन वन्द गरिसकेको जानकारी दिए ।

परराष्ट्र सचिव वैरागीले प्राप्त रकम तुरुन्तै साउदीको जेद्दास्थित नेपाली महाबाणिज्य दूतको कार्यालयमा पठाइने वताए । ‘भुसाललाई जेलबाट निकाल्नको लागि ब्लडमनि रकम अदालतमा जम्मा गर्नुपर्छ । यो रकम दूतको कार्यालयले अदालतसँग समय लिएर जम्मा गर्नेछ,’ उनले भने,‘अब प्रक्रिया पुरा गरेर भुसाल जेलबाट निस्केर स्वदेश फिर्न पाउनेछ ।’

गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्टले प्रवासमा रहेका सवै नेपालीको सहयोगबाट भुसालको उद्धार सम्भब भएको वताए । ‘हामी जेलमा भएका नेपालीको उद्धारमा सहयोग गर्न चाहन्छौ,’ उनले भने,‘यो एउटा उदाहरण हो ।’