१५ चैत्र २०८०, बिहीबार
Follow Us

यूरोप ,अमेरिका र जापानको सपना बाँडेर करोडौँ ठगी गर्ने पारस लोहनी पक्राउ

sarusaru
६ माघ २०७४, शनिबार ०३:४६

काठमाण्डौ – नुवाकोट पुख्र्यौली घर भएका पारस लोहनी ललितपुर महालक्ष्मीस्थानमा बस्छन् ।
बाग्लुङका तीन जना युवाहरुलाई पोर्चुगल पठाइदिने सपना देखाएर ३६ लाख रुपैँया लिएपछि पारसले आज आज भोलि भोलि भन्दै भाखा राखेर ती युवाहरुलाई दुई वर्ष पुरै काठमाण्डौमै अलमलाइदिए । कुनै प्रमाणबिना नै बाग्लुङ नारायणस्थानका अमर शर्मा, नेत्रप्रसाद शर्मा र आकाश लामिछानेको १२ –१२ लाख गरी ३६ लाख रुपैयाँ लिएका पारस पैसा लिएपछि भेट्ने त परै जाओस् फोन उठाउन सम्म कठिन पथ्र्यो । बल्ल बल्ल फोन उठाए भने व्यस्त छु भन्थे अथवा कहिले भोलि हुन्छ पर्सि हुन्छ भन्दै भाखा राख्न पोख्त थिए ।

बाग्लुङका ती युवाहरुलाई अब भिसा लाग्छ भिसा लगाउन दिल्ली जानुपर्छ भन्दै पारसले ३–४ पटकसम्म दिल्ली पनि पठाए । उनीहरु पटकपटक दिल्ली जाँदै फर्कँदै गर्थे । ती युवाहरु पारसका घरमा पनि नगएका होइनन् । घरमा जाँदा कहिले उनी लुक्थे त कहिले बाहिरै हुन्थे । घरमा गएर उनका बाबु लाई भेट्न खोज्दा पनि उनका बाबु मणीनाथ लोहनीले माथिबाटै कराएर कुकुर लगाइदिन्छु भन्ने धम्की दिन्थे ।
ती युवाहरुका यूरोप जाने सपना त चकनाचुर बनाइदिए पारसले पैसा पनि उठ्ने हो कि नउठ्ने हो भन्ने डरमा छन् ती युवाहरु ।
त्यतिमात्र होइन पारसले यस्ता धेरै युवाहरुका सपनाका घर भत्काइसकेका छन् ।

पटक–पटक गरेर खनखनी गनेर २२ लाख रुपैया हातमा राखिदिएपछि ललितपुरको नखिपोट निवासी नरबहादुर वुढाथोकीले स्पेन जाने सपना देख्न थाले ।
नदेखून् पनि किन, पानीजहाजको क्रु मेम्बरको जागिर र मनग्गे कमाइको लोभ देखाएका थिए, उनकै छिमेकी पारस लोहनीले । बुढाथोकीलाई आफु स्पेन पुगिनेमा किन विश्वस्त थिए भने छिमेकी पारसले स्पेनको पानी जहाज कम्पनी सम्बद्ध कैयन कागजात देखाएका थिए । साथै पानीजहाजमा काम गर्नका लागि आवश्यक तलिम लिएको प्रमाणपत्र बिना तालिम उपलब्ध गराइदिएका थिए । तर नरबहादुरको सपना धेरै दिनसम्म टिकेन ।

स्पेन लगिदिने भनेर पैसा लिएका पारस सम्पर्क बाहिर बसेपछि उनी झल्याँस्स भए, लौ ठगीमा त परिएन । स्पेन, अमेरिका र जापानका विभिन्न पानीजहाज कम्पनीमा क्रु मेम्बर काम दिलाइदिने लोभ देखाएर पारसको ठगीमा परेका नरबहादुर मात्र एक्ला छैनन् । दुई महिना भन्दा लामो खोजीपछि बुधबार बेलुकातिर महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले पारस लोहनीलाई सोह्रखुट्टेमा हिडीरहेका बेला पक्राउ गरेपछि उनीबाट ठगीनेहरुको ठुलो संख्या सार्वजनिक भइरहेको छ । अपराध महाशाखामा पारसविरुद्ध ३२ जनाको लिखित उजुरी परेको छ जसमा दुई करोड ४० लाख रुपैयाँ विगो दावी माग गरिएको छ । बिहिबार साँझसम्म पारसबाट ठगीने अन्य पीडितहरु पनि महाशाखाको सम्पर्कमा आएका छन् । महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार पीडितहरुको संख्या अझै बढन सक्छ र विगो दावीको रकम कराडौं पुग्न सक्ने सम्भावना छ ।

सर्लाही नवलपुर घर भएका विकासराज खरेल पनि पारसले देखाएको सपनाको मोहक पासोमा परेर ठगिने अर्का व्यक्ती हुन् । आफ्ना नजिककै साथीभाइबाट विकास पारसको सम्पर्कमा पुगेका थिए । पारसले अमेरिकाको पानीजहाज कम्पनीमा काम लगाईदिने भनेपछि उनले ३५ लाख रुपैया नगदै उनको हातमा थमाएका थिए, तीन वर्ष अघि । रकम लिएर लामो समय झुलाएका पारसले दुबईको भिजिट भिसा लगाइदिए र टिकट दिदै भने, ‘अब दुबईबाटै अमेरिकाका लागि उडने ।’ विकासले दुबई जानका लागि आवश्यक डलर साटे, किनमेल गरे र परिवारसँग विदा भएर विमानस्थल पुगेपछि पो थाहा भयो, दुबईको टिकट त नक्कली पो रहेछ । त्यसपछि भने पारस सम्पर्क विहिन भए । त्यसपछि उनले चाल पाए, पक्का ठगीमा परियो ।

पारसले मोहन शेरचनलाई जापान पठाइदिन्छु भन्दै १३ लाख असुले । नगेन्द्र दाहाललाई जापान पठाईदिने भन्दै २३ लाख असुले । बुद्धीमान गुरुङसहितका नौ जना साथीलाई भने सिंगापुर पठाइदिन्छु भनेर डेढ वर्षअघि ४८ लाख असुले । प्रमाण कमजोर पार्ने नियतले चलाख पारसले अधिकांशसँग नगद नै रकम बुझेका छन ।

प्रहरीका अनुसार नुवाकोट थानापती स्थायी घर भएका पारसको यस्तो ठगी करिब पाँच बर्षदेखि चलाएको देखिन्छ । उनले धेरैलाई सिंगापुर, अमेरिका, पोर्चुगल, जापान र स्पेन पठाइदिने भन्दै रकम असुलेका छन् । रकम असुलेपछि पारस सम्पर्क बाहिर बस्थे । धेरै करकर गर्ने र पछि लागीरहनेलाई केही लाख रुपैया फिर्ता गर्ने र अरु पछि फिर्ता दिने भन्दै झुलाउँथे । कसैलाई रकम नै नभएको बैंकको चेक दिएर त कसैसँग रकम फिर्ता गर्ने लिखित कागज गरेर त कसैलाई भारतको दिल्ली पुऱ्याएर अलपत्र पारेर अनेकन दु:ख दिइरहन्थे ।

फसेको रकम उठाउन पीडत नरबहादुरले केसम्म गरेनन् । उनले भने, ‘कति दौडधुप गरें, त्यसको हिसाब नै छैन् ।’ नरबहादुरकै उजुरीको आधारमा गत दशैअघि पारसलाई प्रहरी परिसर ललितपुरले नक्सालबाट पक्राउ गरेको थियो । तर रकम दिएको प्रमाण नभएपछि प्रहरीले पारसलाई बैदेशिक रोजगार विभागमा बुझायो । विभागले भने आपसमा मिल्न दबाब दियो र नरबहादुरले एक जना लेखन्दास राखेर रकम लिएको कागज गरे । त्यसपछि उम्केका पारसले न भनेको समयमा रकम दिए न सम्पर्कमा नै आए ।

सामाजिक संजाल फेसबुकबाट र आफ्ना नजिकका साथीभाइमार्फत उनी विदेश पठाइदिने आश्वासन बाँडथे । उनको आश्वासनको चंगलुमा परेर रकम डुबाउने कैयन उनका नजिककै साथीभाइ र आफन्तसम्म छन् । प्रहरी बयानका क्रममा पारसले ५५ जनालाई आफूले तीन करोड रकम फिर्ता गरिसकेको बताइरहेका छन् । तर प्रहरीका अनुसार चलाख पारसले धेरैलाई बिल्लीबाँठ पारेका छन् । प्रहरीका अनुसार परासले पीडितहरुबाट न्युनतम ७ लाखदेखी अधिकतम ३५ लाख रुपैयाँसम्म असुलेको देखिन्छ ।

आठ बर्ष अघिसम्म पारस सामान्य आर्थिक हैसियतका थिए । उनका नजिकका मान्छेहरुका अनुसार उनको कलंकीमा सानो पोल्ट्री फार्म थियो र उनी एउटा मेनपावर कम्पनीमा एजेन्टको काम गर्थे । त्यही एजेन्टको पेशाबाट उनी व्यक्तिगत रुपमा दुबई र साउदी अरब मान्छे पठाउने सक्ने हैसियतमा उक्लिए । त्यसपछि उनले युरोप र अमेरिका पठाइदिने सपनाको चंगुल बाँडन थाले ।