१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चितवन राष्ट्रिय निकुञ्जमा २१३ प्रजातिका चरा

sarusaru
६ माघ २०७४, शनिबार ०४:०९

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा चरा गणना भइरहेको छ । शनिबारदेखि सुरू भएको चरा गणना आज बिहीबारसम्म हुने पक्षीविद् तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिंडारीले जानकारी दिए ।
‘चितनव निकुञ्ज र निकुञ्जसँगै जोडिएर बग्ने राप्तीलगायतका आसपासका खोलामा चरा गणना भइरहेको छ’ बिंडारीले भने, ‘अहिले सबै खालका चराको गणना भइरहेको छ ।’ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको उनले बताए । उनले २१३ प्रजातिको चरा भेटिएको बताए । उनले भने, ‘पानीमा आश्रित ४५ प्रजातिका चरा भेटिएको छ ।’
यस पटकको गणनामा चखेवाचखेवी प्रजातिको चरा बढेको छ । पानी हाँसका प्रजातिका चरा बढेका छन् । २८ सयभन्दा बढी चखेवाचखेवी भेटिएको छ । २४ सयभन्दा बढी हाँस भेटिएको छ । ‘यसअघिको गणनालाई हेर्दा चखेवाचखेवी र हाँसको संख्या २०० भन्दा बढीले बढेका छन्’ बिंडारीले भने ।
आइतबार सौराहाको घाटदेखि कसराको पुलसम्म चरा गणना भएको थियो । ‘आइतबार निकुञ्जभित्रको तमोर ताल र लामी तालमा पनि चरा गणना भएको छ’ उनले भने, ‘आइतबारको गणनामा १०२ प्रजातिका चरा फेला परेको थियो ।’
शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको थियो । शनिबारको गणनामा ८५ प्रजातिका चरा फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा भएको चरा गणना कार्यअन्तर्गत सोमबार रामसार सूचीमा सूचीकृत बिसहजारी ताल क्षेत्रमा चरा गणना हुने उनले बताए
‘चराको संख्या बढ्छ, तर अहिल्यै कति बढ्छ भन्न सकिने अवस्था छैन’ अध्यक्ष बिंडारीले भने, ‘चखेवा प्रजातिको चरा बढेको छ, हाँसहरु पनि बढेको पाइयो ।’ चितवनमा चराको क्षेत्रमा काम गर्दै आएका ३६ जना स्वयंसेवकले चराको गणना गरिरहेका छन् ।
निकुञ्ज भएर बग्ने साना ठूला खोला, ताल र सीमसार क्षेत्रमा चरा गनेपछि अन्तिम नतिजा प्रकाशन हुने बताइएको छ । साइबेरियालगायत जाडो ठाउँबाट नेपालका नदी, ताल तलैया र सीमसार क्षेत्रमा हिँउद याममा पानी चराहरु आउने गर्छन् । ‘यसपटक पानी चराको अवस्था पनि राम्रै देखिएको छ’ अध्यक्ष बिंडारीले भने, ‘अन्तिम नतिजा आउन अझै दुई चार दिन लाग्छ ।’ चितवन राष्ट्रिय निकुञ्जमा ७ प्रजातिका दुर्लभ चराहरु भेटिएको अध्यक्ष बिंडारीले बताए । चितवन निकुञ्जको लोथरदेखि पश्चिम र कसराको पुलदेखि पूर्वको भागमा चरा गणना गरिएको थियो । हरेक वर्षको जनवरी ६ तारिकदेखि २१ तारिकसम्म नेपालमा चरा गणना हुँदै आएको छ ।

– चितवन पोष्टबाट ।