१५ चैत्र २०८०, बिहीबार
Follow Us

फागुन २५ गते सलमान खानले टुँडिखेलमा नेपालीलाई नचाउने

नेपालब्रिटेन डट कम्
६ माघ २०७४, शनिबार ०५:१३

काठमाडौं । आगामी फागुन २५ गते काठमाडौँ टुँडिखेलमा बलिउड स्टार सलमान खानले नेपाली दर्शकलाई नचाउने भएका छन् । ओडिसी इन्टरटेनमेन्टले सलमानको उपस्थितीमा दबंग टुर गर्न लागेको हो । कार्यक्रमका लागि सबै तयारी पुरा भैसकेको हिजो शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बलिउड अभिनेता एवं निर्देशक सोहेल खानले जानकारी दिए । यसअघि क्यानिडियन गायक ब्रायन एडम्सलाई नेपाल ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।

सोहेल खान इन्टरटेनमेन्ट र जेए इभेन्ट्ससँग मिलेर ओडिसीले कार्यक्रम गर्न लागेको हो । टुँडिखेलमा दुई घण्टा लामो स्टेज कार्यक्रममा सलमानले आफ्ना चर्चित फिल्मका गीतमा प्रस्तुति दिनेछन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यक्रममा सोनाक्षी सिन्हा, कृति सेनन, प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पौलसहित नेपाली कलाकारले समेत प्रस्तुति पनि रहनेछ । ओडिसी प्रमुख सीमान्त गुरुङका अनुसार करवि ५० हजार दर्शक टुँडिखेलमा आउने अपेक्षा गरिएको छ ।

टिकट दर २ हजारदेखि १० हजारसम्म राखिएको छ । माघ १८ गतेदेखि टिकट विक्री खुला गरिने भएको छ । भूकम्प र नाकाबन्दी पछि नेपालको पर्यटनमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण गर्दै विश्वमाझ नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन कन्सर्ट गर्न लागिएको ओडिसीले जनाएको छ । नेपाल भ्रमणका क्रममा सलमानलाई सगरमाथा आधार शिविरसम्म लैजाने कार्यक्रम छ । खुम्बु क्षेत्रको होटेल एभरेस्ट भ्यूमा सलमानले ब्रेकफाष्ट खानेछन । सोल्टी होटेलमा बस्ने सलमानले चन्द्रागिरी भ्रमण गर्नेछन् ।

उनलाई हेलिकोप्टरमार्फत चन्द्रागिरी लगिने भएको छ । सलमानको दबंग द टुर भारतको राजधानी नयाँ दिल्ली, लन्डन, अस्ट्रेलिया, न्यूजिल्यान्ड र हङकङमा भैसकेको छ । काठमाडौँपछि भारतको पुने, क्यानडा र अमेरिकामा समेत टुर हुने कार्यक्रम छ ।