१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मुग्लिन सडकखण्डको उस्तै शास्ती

sarusaru
७ माघ २०७४, आईतवार ०६:४३

निर्माण कार्य सुरु गरेको लामो समय बितिसक्दा पनि नारायणढ मुग्लिन सडकखण्डको कामले पूर्णता पाएको छैन । धेरैजसो जिल्लाबाट राजधानी भित्रिने बाटो भएकोले उक्त बाटोमा सवारीको चाप पनि धेरै नै हुने गर्दछ । निर्माण सुरु भएको २ वर्ष भइसकेको छ । सडकको काम नसकिएकोले लामो समयदेखि उक्त सडकमा आवतजावत गर्ने यात्रुहरु हैरान भएका छन् । साथै ठूलो सास्ती खेप्नुपरेको छ । कहिले दिउँसोे त कहिले राती प्रायजसो सडक बन्द हुँदै आएको छ । त्यसो त काम नसकिएकोले भएको भन्ने धेरैलाई थाहा पनि छ । साथै सडक दुर्घटनाको उच्च जोखिम रहेको उक्त ठाउँमा सडक फराकिलो बनाउनु पनि अपरिहार्य नै रहेको छ । तर लामो समयसम्मको किचलोले गर्दा सर्वसाधारण जनता र यात्रुहरु वाक्क दिक्क भइसकेका छन् । उनीहरुलाई काममा ढिलासुस्ती भइरहेको आभास पनि भैरहेको छ । अहिलेको युगमा कस्ताकस्ता काम त समयमै सम्पन्न गर्ने राम्राराम्रा प्रविधि छन् भने यो काम त तिनका तुलनामा त्यत्ति असहज पनि त होइन भन्ने कुरा सबैले राम्रोसँग बुझेका छन् ।

त्यसकारण उनीहरुको सरकारसँग गुनासो पनि उत्तिकै मात्रामा रहेको बुझिन्छ । केही बाध्यताहरु ठेकेदार कम्पनी र सरकारका पनि होलान् तर यतिविधि सुस्त तरिकाले काम गरेका ेभने धेरैलाई चित्त बुझेको छैन । माघ २ गतेबाट पुनः काम रातको समयमा भइरहेको छ । अहिले उक्त स्थानमा रातको १० बजेबाट विहान चार बजेसम्म सवारी आवतजावतलाई ठप्प पारिएको छ । सरकारी तथ्यांकअनुसार अहिलेसम्म ७२ प्रतिशत काम सम्पन्न भइसकेको र अब २८ प्रतिशत काम बाँकी रहेको देखिएको छ । गत पुस महिनाको १८ देखि रातको समयमा काम भएपनि रातको समयमा काम गर्न असहज परेको गुनासो. कामदार र उक्त निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले बताएको छ । जबसम्म दिउँसो गाडी रोकेर काम भइरहेको थियो त्यसबेलासम्म काममा निकै राम्रो प्रगति भएको तर रातको समयमा त्यत्ति प्रभावकारी रुपमा काम नभएको गुनासो सुन्न थालिएको छ ।

त्यसैले सोही कुरालाई मनन गरी आगामी माघ १३ गतेबाट दिउँसोको समयमा ६ घण्टा गाडी रोकिने निर्णय गरिएको छ । त्यसबेलासम्म भने रातको समयमै काम भइरहने बताइएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातको समयमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताउदै रातमा रोक्दा सडक निर्माणको काममा चार गुणा ढिला भएको बताएका छन् । दिउँसोको काम प्रभावकारी हुने भएकोले माघ १३ बाट एकमहिनासम्म दिउँसोमा काम गर्ने र सो अबधिमा गाडी रोक्ने तयारी भइरहेको छ । यसबाट यात्रुहरुले सबैभन्दा बढी सास्ती भोग्नुपर्ने निश्चित छ । तसर्थ सरकारले यात्रुको मर्मलाई बुझ्नको लागि यस्ता काम गर्दा वैकल्पिक व्यवस्थाको पनि तयारी गर्नु आवश्यक हुन्छ । जसले गर्दा काम गर्ने कम्पनी र यात्रुहरुलाई पनि सहज हुने थियो कि ?

– टिभि अन्नपूर्णबाट ।