१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रदेश सभासदहरुले लिए शपथ, पहिलो अधिवेशन यही माघ २१ मा

नेपालब्रिटेन डट कम्
७ माघ २०७४, आईतवार ०८:३०

काठमाडौं । प्रदेश १ देखि ४ सम्मका प्रदेशसभाका सासदहरुले सपथ लिइसकेका छन् । प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिनुभएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाउनुभयो । सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रदेश सदस्यले शपथ लिनुभयो । नेपाली काँग्रेसबाट समानुपातिकबाट छनोट हुनुभएका सरावगीको जन्म विसं २००० चैत ३० गते झापाको भद्रपुरमा भएको हो ।
शपथका अवसरमा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रतिनिधिसभाका सदस्य, पूर्वसांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, सुरक्षाकर्मीका उच्च पदाधिकारी, कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, समाजसेवीलगायतको उपस्थिति थियो ।

प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने चौधरीले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनुभयो । प्रदेश प्रमुखबाट शपथ ग्रहण आआफ्नो मातृभाषा गर्ने तर लिखित रूपमा नेपाली भाषामा शपथ ग्रहणपत्र बुझाउने निर्देशन भएपछि प्रदेशसभा सदस्यले सोको विरोध गर्दै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न माग गरेका थिए ।

कार्यक्रममा विवाद बढ्दै गएपछि प्रदेश प्रमुखले सो निर्देशनलाई सच्याउँदै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न निर्देशन दिएपछि प्रदेशसभा सदस्यले आआफ्नो मातृभाषामा शपथ लिएका थिए । सो अवसरमा प्रदेश प्रमुख कायस्थले सहकार्य गरी सौहार्दपूर्ण वातावरणमा प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै प्रदेशसभाको पहिलो अधिवेशनबाट प्रदेशसभालाई समृद्ध बनाउने अवधारणा तय गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य, उच्च अदालतका न्यायाधीश, क्षेत्रीय सुरक्षा प्रमुख, जिल्ला समन्वय समितिका सभापति, जिल्ला न्यायाधीश, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुखको उपस्थिति थियो । प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २१ हुने भएको छ । जनकपुरधामको शैक्षिक तालिम केन्द्रको सभागृहमा बिहान ११ बजे अधिवेशनको तिथि तोकिएको छ ।

मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् । आज बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ गराउनुभयो । हेटौँडामा ३ नं प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिनुभएको हो ।

प्रदेश नं ४ का प्रदेशसभा सदस्यले आज सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उहाँहरूलाई शपथ गराउनुभयो । ज्येष्ठ सदस्य श्रेष्ठले यसअघि आज बिहान प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । प्रदेश नं ४ मा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपरासी(बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङ, गोरखा, मनाङ र कास्की जिल्ला पर्छन् ।