१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तीन सांसद प्रहरीको ‘वान्टेड’ सूचीमा

नेपालब्रिटेन डट कम्
८ माघ २०७४, सोमबार ०४:५३

काठमाडौं । नेपाल प्रहरीले सांसदमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न ‘वान्टेड’को सूचीमा राखेको छ । प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ । त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले दोषी ठहर गरेका मनाङे पनि पक्राउको सूचीमा छन । पक्राउ पर्ने डर भएपछि मनाङे आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथग्रहण कार्यक्रममा समेत अनुपस्थित रहे ।

त्यसैगरी थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारी मारिएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । यही कारण सांसदमा विजयी भए पनि निर्वाचन आयोगले चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र अझैसम्म दिएको छैन । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले फरार तीन जनालाई अदालतले समेत दोषी देखाइसकेका कारण ‘वान्टेड’ को सूचीमा राखी पक्राउको प्रयास भइरहेको बताए । पक्राउका लागि मुलुकभर लिखित तथा मौखिक सर्कुलर भइसकेको छ, उनले भने।

यी तीन ब्यक्तिलाई पक्राउ गर्न फोटोसहितको सूचना सार्वजनिक गरी वान्टेडमा राख्न आवश्यक भने नभएको उहाँले बताए। उहाँहरू तीनै जना चिरपरिचित छन, फोटोसहितको सूचना जारी गर्न जरुरी छैन भन्दै उनले तीनै जनालाई पक्राउ गर्न प्रहरी परिचालन भएको जानकारी दिए । पूर्वडीआईजी सिलवाल नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर–१ बाट र चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन भने मनाङे मनाङ प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित भएका हुन।

प्रहरीको वान्टेड सूचीमा रहेका सिलवाल, चौधरी र मनाङे तीनै जना फरार छन । प्रदेशसभाका सांसदको शपथग्रहणको मौका छोपी आइतारबार मनाङेलाई पक्राउ गर्न पोखरा पुगेको प्रहरी टोली रित्तो फर्किएको छ । मनाङे शपथग्रहरणमा अनुपस्थित भएपछि प्रहरी फर्किएको हो । आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन कासमु कीर्ते गरी डीआईजीबाट नै राजीनामा दिएका सिलवाल एमालेबाट उम्मेदवारी दिएर ललितपुरबाट विजयी भएका हुन।

सर्वोच्च अदालतले कीर्ते मुद्दामा सिलवालमाथि छानबिन गर्न आदेश दिएपछि भने उनी फरार भएका हुन । एक नाबालकसहित सात जना सुरक्षाकर्मीको हत्या घटनाका मुख्य योजनाकारको अभियोगमा चौधरीलाई पनि अदालतले पक्राउ गरी उपस्थित गराउन यसअघि नै आदेश दिएको थियो ।