६ बैशाख २०८१, बिहीबार
Follow Us

सिलवाल खोज्न प्रहरीले इन्टरपोलमा उजुरी दिएपछि एमाले रुष्ट

नेपालब्रिटेन डट कम्
९ माघ २०७४, मंगलवार ०३:५८

प्रहरीले पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना जारी गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले अस्ति सूचना जारी गरेको हो । एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर १ बाट विजयी सिलवाल अहिले देशभित्र नभएको प्रहरीको दावी छ।
बढुवाका लागि कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि सिलवाल सम्पर्कविहिन बन्नु भएको छ । प्रहरीले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन निर्देशन दिएको थियो।
ललितपुर क्षेत्र नम्ब १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको आलोचना गरेको हो ।
चुनावबाट विजयी भइसकेका सांसदलाई अपराधीको जसरी व्यवहार गरेर इन्टरपोलमा सूचना हाल्नु आपत्तिजनक भएको एमालेको भनाई छ । बढुवाको लागि कार्य सम्पादन मुल्यांकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि नेपाल प्रहरीले १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ । प्रहरी महानीरिक्षक बन्न नसकेपछि राजिनामा दिएका सिलवाल एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित हुनु भएको थियो ।