११ बैशाख २०८१, मंगलवार
Follow Us

राप्रपाद्वारा समिति गठन

नेपालब्रिटेन डट कम्
९ माघ २०७४, मंगलवार १४:०३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा आफ्नो दलकातर्फबाट उम्मेदवार बनाउन नेपाली काँग्रेस र नेकपा (एमाले) दुवैसँग छलफल गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो छलफल गर्ने निर्णय गरेको हो ।

छलफलका लागि नेताहरु सुशील श्रेष्ठ, कुन्तीकुमारी शाही, बिक्रमबहादुर थापा र गीताभक्त जोशी रहेको वार्ता समिति गठन गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । छलफलपछि मात्र पार्टीले एउटा दलसँग सहकार्य गरी दलकातर्फबाट उम्मेदवारको नाम सार्वजनिक गर्ने छ । निर्वाचनमा जुन दलसँग समन्वय गर्दा अधिकतम उम्मेदवारलाई जिताउने सम्भावना हुन्छ, सोही दललाई राप्रपाले पनि सहयोग गर्ने जनाइएको छ । बुधबार मध्याह्नभित्र उम्मेदवारको टुंगो लगाएर उम्मेदवारी मनोनयन गराइने छ ।