१३ बैशाख २०८१, बिहीबार
Follow Us

सन्तान काखमा च्यापेर आन्दोलनमा छौं

नेपालब्रिटेन डट कम्
१० माघ २०७४, बुधबार १०:११

मनिषा विमली, संयोजक, सामाजिक परिचालक आन्दोलन समिति
नौ वर्षसम्म सामाजिक परिचालकको भूमिका निर्वाह गरेकाहरू यतिबेला सडक आन्दोलनमा छन् । साविकको जिल्ला विकास समितिअन्तर्गतका सामाजिक परिचालकले स्थानीय तहमा आफूहरूलाई समायोजित गरियोस् भनेर आन्दोलन गरिरहेका हुन् । विदेशी दाताको सहयोगमा चलेको कार्यक्रम भएकाले स्थानीय तहको निर्वाचनसँगै कार्यक्रम पनि सकिएको छ । सरकारले अब थप समय राख्न नसक्ने निर्णय सुनाइदिएपछि सामाजिक परिचालक आन्दोलनमा उत्रेका छन् । नेपाल सामाजिक परिचालक कर्मचारी संघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनको संयोजन गरिरहेकी मनिषा विमलीसँग गरिएको कुराकानी ः

० तपाईंहरूको आन्दोलन किन ?
– विगत नौ वर्षदेखि स्थानीय तहमा काम लगाइएका थियौ । पुस १४ गते राज्यमन्त्रीस्तरीय निर्णय भनी सामाजिक परिचालकलाई जागिरबाट हटाइयो । एक दशकसम्म काम गरेका सामाजिक परिचालकलाई एक पन्ने कागजमा तपाईंहरूले काम गरेको मूल्यांकन गर्दै धन्यवादसहित अवकाश दिएपछि हामी आन्दोलनमा उत्रेका हौं ।

० ठाडो नियुक्ति, ठाडै हटायो होइन ?
– होइन, सामाजिक परिचालक कार्यविधिबमोजिम प्लस टु पास गरेको, समाजसेवा क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव भएको, अन्तर्वार्ता र लिखित दुवै परीक्षा दिएर स्थानीय तहमा सामाजिक परिचालक खटाइएको हो ।

० तपाईंहरूले के काम गर्नुभयो ?
– हिजो जनप्रतिनिधि नभएको अवस्थामा स्थानीय तहको सम्पूर्ण जिम्मेवारी सामाजिक परिचालकलाई दिइएको थियो । टोल सुधार, उपभोक्ता समिति, नागरिक वडा मञ्चलगायतसँग मिलेर हामी काम गथ्र्यो ।

० कस्ता व्यक्ति सामाजिक परिचालक हुनसक्थे ?
– सामाजिक परिचालक कार्यविधिअनुसार नियुक्त भएका व्यक्ति सामाजिक परिचालक हुन् । उनीहरू स्थानीय हुन्थे र स्थानीय तहमै बसेर काम गर्नुपथ्र्यो ।

० तपाईंहरूले राज्यलाई सुनाउन खोजेको के ?
– झन्डै एक दशकसम्म काम गरिसकेका सामाजिक परिचालकलाई कागजको धन्यवादले मात्र पुग्दैन । उनीहरूलाई उमेरको हदबन्दी नलगाई, स्थानीय तहमा योग्यताअनुसार निजामती कर्मचारीमा समायोजन गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

० तपाईंहरूको कुरो राज्यले सुनेको छ त ?
– एक दशक राज्यको सेवा गरेको मूल्यांकन धन्यवाद मात्र हो ? सामाजिक क्षेत्रमा काम गरेका सामाजिक परिचालकलाई स्थानीय तहले अहिले पनि सोधीखोजी गर्छ ।

० निर्वाचित जनप्रतिनिधिभन्दा तपाईंहरू प्रभावकारी हो र ?
– जनप्रतिनिधिहरू पनि स्थानीय नै हुनुहुन्छ । उहाँहरूलाई हामीले नै मतदान गरेर निर्वाचित गरेका हौं । हामीले प्रत्येक घरमा पुगेर मतदान गर्नुपर्छ भनेर निर्वाचन शिक्षा कार्यक्रम चलायौं । उहाँहरूको काम छैन, चिनेका छैनौं भनेर हामीले भनेका छैनौं । उहाँहरू हाम्रो कामको प्रकृति नै फरक छ ।

० स्थानीय तहमा तपाईंहरूलाई भूमिका चाहियो ?
– हामीले भूमिका खोजेका होइनौं । हामीलाई कर्मचारीमा समायोजन गर्नुपर्छ भनेका हौं ।

० सरकारले दिएको धन्यवाद पत्र बुझ्नुभयो ?
– बुझेका छैनौं । समाचारमा पत्र देखेका हौं, त्यही समाचारमा देखेको पत्रका आधारमा हामी आन्दोलनमा गएका हौं । कतिपय नगरपालिकाले तपाईंहरूको काम सकियो, भोलिदेखि नआउनू भन्ने पनि सुनियो । काठमाडौं महानगरको हकमा मेयर विद्यासुन्दर सकारात्मक भएको पायौं, उहाँले आर्थिक व्यवस्थापनका बारेमा छलफल भइरहेको हामीलाई जानकारी गराउनु भएको छ । काठमाडौं महानगरसँग मात्र जोडिएको कुरा होइन, करिब पाँच हजार सामाजिक परिचालक छौं । ऊसँग जोडिएका पाँच लाख परिवारको पेटमा त्यति सजिलै लात मार्नु राम्रो कुरा होइन होला ।

० तपाईंहरूमा राज्यको लगानी छैन ?
– राज्यको धेरै लगानी छ, हामीलाई तालिम दिएको छ, कामको अनुभव छ । हो त्यही कारण हामीलाई हटाउनु हुँदैन भनेका हौं । हामीलाई हटाउने निर्णय गलत भएको छ ।

० अब के गर्नुहुन्छ ?
– आन्दोलन हाम्रो रहर होइन, तर अहिले आफ्ना सन्तान रुवाउँदै सडक आन्दोलन गर्न राज्यले हामीलाई बाध्य बनायो । दुर्गमबाट राजधानीमा केन्द्रिकृत भएर आन्दोलन गर्नु हाम्रो रहर होइन, बाध्यता हो । हाम्रो कामको मूल्यांकन गरेर सरकारले वार्तामा बोलाउनुपर्छ । हाम्रो माग भनेको एकपटक उमेरको हदबन्दी नलगाई हामीलाई स्थानीय तहमा समायोजन गरियोस् ।

० सहरमा भन्दा गाउँमा सामाजिक परिचालनक आवश्यक पर्ने भो ?
– होइन, काठमाडौं उपत्यकालाई किन सामाजिक परिचालक आवश्यक छैन ? सहर र गाउँको गरिबी समाजमा आएपछि मात्र थाहा हुन्छ । हिजो हामी पनि सहरमा गरिबी हुँदैन भन्थ्यौं, तर समाजमा भिज्दै गएपछि त्यस्ता कुरा देखिँदो रहेछ । उपत्यकामा जन्म र मृत्यु दर्ता गर्नुपर्छ भन्ने ज्ञानसमेत रहेनछ ।

० कर्मचारी समायोजन गर्दा लिइने परीक्षामा फेल भए ?
– खुला प्रतिस्पर्धाबाट हामी आउँदैनौं । हामीलाई वार्तामा बोलाएर सरकारले सिस्टममा लिने हो भने हामीबीच आन्तरिक प्रतियोगिता गराउनुपर्छ ।

० खुलामा जान किन डराउनुभएको ?
– खुलामा जाने हो भने किन आन्दोलन गर्नू ? खुलामा प्रतिस्पर्धा गराउँदा हाम्रा ३० प्रतिशत साथीहरू पनि समेटिँदैनन । किनभने धेरैको उमेरहद नाघिसकेको छ । नौ वर्षदेखि काम गरेको सामाजिक परिचालक अहिले खुलामा कसरी सक्षम हुन्छन् ?