१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए पदाधिकारीहरुलाई संयुक्त रुपमा सम्मान

नेपालब्रिटेन डट कम्
१० माघ २०७४, बुधबार २१:४३

लन्डन । तमुधिं यूके र गोर्खाली समाज यूकेले गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्टसहितका पदाधिकारीहरुलाई संयुक्त रुपमा सम्मान गरेका छन् । मंगलबार सांझ अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ र गोरखा जिल्ला समाज यूकेका अध्यक्ष जयप्रकाश गुरुङले अध्यक्ष भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, सह कोषाध्यक्ष सोम सापकोटा, डेपुटी रिजनल वुमन कोअर्डिनेटर संगीता मरहट्ठा लगायतलाई गुरुङ परम्परागत संस्कृति अनुसार फेटा र दोसल्लाले सम्मान गरे ।

सो अवसरमा अध्यक्ष भट्टले दुई संस्थाप्रति आभार व्यक्त 
गर्दै तमुधिं यूकेले विगत जस्तै भविष्यमा पनि नेपाल र नेपालीको हितका लागि जुनसुकै मानवीय काममा एनआरएनएको सहयोग र सहकार्य रहने वचन दिए ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले तमुधिं यूके गुरुङहरुको जातिय संस्था भएपनि सामाजिक क्षेत्रमा नेपाल र सम्पूर्ण नेपालीको हित हुने कार्यमा अग्रसर संस्था भएको जनाउंदै संस्थाले बेलायतमा 
वर्षेनी दुई ठूला इभेन्ट गोर्खा कप र नेपाली मेला आयोजना गरि सबैको मन जित्न सफल भएको बताए । भट्टले भूकम्प र बाढी पीडितका लागि तमुधिं यूकेले गरेका कार्यहरुको प्रशंसा 
गर्दै तमुधिं यूकेको निमन्त्रणामा नेपाली मेलामा बेलायत आउने आश्वासन दिए ।

उक्त कार्यक्रममा उपाध्यक्षद्वय पन्त र आचार्यले शुभकामना व्यक्त गर्दै आफूहरुले तमुधिं यूकेसंग नजिकबाट समन्वय गरि धेरै काम गरेको अनुभव सुनाए ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गरेकामा समस्त तमुधिं यूके कार्यसमिति, सल्लाहकारहरु, तमुधिं इकाई अध्यक्ष, युवा, आमा समूह र आजीवन सदस्यहरु एवं 
गोरखाली समाज यूके अध्यक्ष तथा तमुधिं यूकेका सल्लाहकार जयप्रकाश गुरुङ र उनको कार्यसमितिलाई धन्यवाद व्यक्त गरेका छन् ।

एनआरएनए यूके उपमहासचिव विनय अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा तिलकुमारी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

तस्विर- मिलन तमु