१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मुर्मा हेल्थ पोष्टद्वारा ४,००० बढी बिरामीलाई सेवा प्रदान

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार ०३:५२

हेल्पनेपाल नेटवर्कद्वारा प्रदेश नं ६ स्थित मुगु जिल्लाको मुर्मामा स्थापित हेल्पनेपाल हेल्थपोष्टले चारहजार भन्दा बढी बिरामीहरुलाई सेवा पुराएको छ।

हेल्पनेपाल नेटवर्कद्वारा प्रकाशित विज्ञप्ती अनुसार जुलाई २०१६ देखि जुलाई २०१७ को अवधिमा सो स्वास्थ्यचौकीले मुर्मा र वरिपरिका रारा, पिना, सेरी, गाम्ठा लगायत सातवटा विकट गाविसहरुका ४,१७६ जनालाई स्वास्थ्य उपचारसेवा प्रदान गरेको थियो। उक्त अवधिमा ग्यास्ट्रीक, झाडापखाला, रुघाखोकी, जरोबाट पीडित बिरामीहरुको उपचार गरिनुका साथै स्वास्थ्यचौकीले विभिन्न खोपहरु लगाउनुकासाथै गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा सुत्केरी सेवा पनि उपलब्ध गराएको थियो। त्यसैगरी स्वास्थ्यचौकीले तीनवटा स्थानीय विद्यालयहरुमा स्वास्थ्य शिक्षा कार्यक्रम पनि सन्चालन गरेको थियो।

सन् २००४ मा विकट मुगु जिल्लामा स्वास्थ्यसेवा पुराउने उद्देश्यले स्थापना गरिएको सो स्वास्थ्यचौकीमा अहिले एकजना हेल्थ असिस्टेन्ट, एक अहेव, एक अनमी तथा एक सहायक कार्यरत छन्। उनीहरुको तलब, भत्ता, स्वास्थ्यचौकीका लागि आवश्यक औषधि समेतकालागि गत वर्ष झण्डै रु १७ लाख बराबरको सहयोग पठाइएको हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले बताए। उक्त स्वास्थ्य चौकीको सन्चालनकालागि स्कटल्याण्डस्थित एभरेष्ट म्याराथन फण्ड लगायतका संघसंस्थाहरुले सघाउँदै आएका छन्।