१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रिय सभा निर्वाचन आचारसंहिता आजवाट लागू

नेपालब्रिटेन डट कम्
१२ माघ २०७४, शुक्रबार ०७:३५

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका अनुसार आचारसंहितासरकार, सरकारका मन्त्री, प्रदेश सरकार तथा स्थानीय तहमा पनि लागू हुनेछ । यस्तै, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तर समेत गर्न नपाइने आयोगले प्रष्ट पारेको छ । तर वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले असर नगर्ने निर्वाचन आयोगको भनाइ छ ।

आचारसंहिता लागू भएपछि कुनै अत्यावश्यक निर्णय गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वस्वीकृति लिनुपर्ने आयोगले जानकारी दिएको छ । स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिताको पुर्णपालना हुने विश्वास निर्वाचन आयोगले ब्यक्त गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते बिहान १० देखि ३ बजेसम्म राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुँदैछ । निर्वाचनका लागि ८३ जना उम्मेदवारले बुधबार मनोनयन दर्ता गराएका छन् ।२४ गते हुने निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा सात प्रदेशबाट आठ आठ जना गरी ५६ जना निर्वाचित हुनेछन् । तीन जना भने मन्त्रीपरिषदको सफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

राष्ट्रिय सभा निर्वाचनमा ५ सय ५० जना प्रदेश सभा सदस्य र १५ सय ६ जना गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी कूल दुई हजार ५६ मतदाताले सहभागिता जनाउनेछन् ।